प्रधानमन्त्री बालेन शाहले आफूलाई संघीयता विरोधीका रुपमा सपनामा पनि नसोच्न आग्रह गरेका छन्।
मधेसकेन्द्रित दलका नेताहरुसँगको भेटघाटका क्रममा उनले आफू संघीयता विरोधी नरहेको प्रस्टीकरण दिएका हुन्।
राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता राजेन्द्र महतोले चितवनमा भएको राष्ट्रिय स्वतन्त्र पार्टिको महाधिवेशनमा संघीयताको विरोध भएको विषय छलफलमा उठाएका थिए।
'संघीयता प्रति शंका उपशंका भयो। चितवनको महाधिवेशनमा संघीयता विरोधी कुरा भयो', भेटमा महतोले भनेका थिए।
'मलाई संघीयता विरोधी भनेर सपनामा पनि नसोच्नुहोला,' बालेनको भनाइ उद्धृत गरेर महतोले भने।
महतोले संघीयता बलियो बनाउने र संरचनामा परिवर्तन ल्याउने कुरा मात्र भएको बताए।
'सन्देश गलत गएको छ। सुधार गर्नुपर्नेछ भनेर प्रधानमन्त्रीले भन्नुभयो', महतोले भने, 'हाम्रो पार्टी संघीयता विरोधी होइन र म स्वयम् त संघीयता विरोधी होइन्। कहाँ-कहाँ कमी हो सुधार गर्नुपर्छ। प्रदेशहरुले प्राप्त अधिकार प्रयोग गर्नुपर्छ भन्नुभयो।'
प्रधानमन्त्री शाहले आफूले मेयर हुँदा आफूले कतिपय अधिकार प्रयोग गरेको उदाहरण पनि भेटमा दिएका थिए।
त्यस्तै संघीयता प्रति कुनै खतरा नरहेको शाहले स्पष्ट पारेका थिए।