सुनसरी घटनाको पाँचौ दिनपछि प्रधानमन्त्री शाहले आज सिंहदरबारमा मधेसकेन्द्रित राजनीतिक दलका नेताहरूसँग छलफल राखे।
छलफलमा प्रधानमन्त्री बालेन शाहलाई राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले हिन्दी गीतको शब्द सुनाए- आते आते बहुत देर कर दी।
प्रधानमन्त्रीले मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधान र आपसी सद्भाव कायम राख्ने विषयमा संवाद गर्न तराईकेन्द्रित विभिन्न दलका नेताहरूलाई बोलाएका थिए।
प्रधानमन्त्रीले मधेसमा शान्ति सुव्यवस्था कायम राख्न र आगामी दिनमा यस्ता गतिविधि हुन नदिन के गर्न सकिन्छ भन्नेबारे नेताहरूको धारणा मागेका थिए।
आफ्नो धारणा मैथिलीमै राखेका अध्यक्ष महतोले यस्तो संवेदनशील समयमा सरकार चुप लागेर बसेको भन्दै प्रश्न गरेका थिए।
‘मुख्य रूपले सुनसरीको जुन घटना हो, अब यो साम्प्रदायिक दङ्गाले त कसैको भलो त गर्दैन। देश, जनता र समाजको लागि यो त कलंक हो। मान्छे मान्छेको विरूद्धमा डराउने अवस्था त भएन नि!, यसलाई कुनै पनि हालतमा ठीक मान्न सकिन्न। यस्तो अवस्थामा पनि सरकार किन चुप लागेर बस्या? किन तपाईंहरूले केही नगर्या?,’ प्रधानमन्त्रीसँग राखेका कुराबारे अध्यक्ष महतोले सेतोपाटीसँग भने।
सुनसरी घटनाबारे सरकार र प्रधानमन्त्रीले समयमै एक्सन लिएको भए दंगाअरू ठाउँमा जाँदैन थियो भन्ने आफ्नो भनाइ रहेको उनले बताए। ‘प्रधानमन्त्री र गृहमन्त्रीले हेर्दै नहेर्ने हो भने त देश बर्बाद हुने भयो,’ महतोले भने।
प्रधानमन्त्री शाहले पनि अध्यक्ष महतोलाई मैथिलीमै जबाफ दिए।
सुनसरीलगायत घटनामा सरकार गम्भीर रहेको र आफूले राष्ट्रका नाममा सम्बोधन गरिसकेको पनि उनको भनाइ थियो।
‘हिजो हामीले सम्बोधन गर्यौँ, गृहमन्त्री पनि फिल्डमा जानुभएको छ। पीडितसँग सम्झौता गर्नुभएको छ,’ प्रधानमन्त्री बालेनलाई उद्धृत गर्दै महतोले सेतोपाटीसँग भने।
प्रधानमन्त्रीको जबाफपछि महतोले एउटा हिन्दी गीत सुनाए।
‘एउटा गीत छ नि— आते आते बहुत देर कर दी’ हो त्यस्तै भयो। आउँदा आउँदै ढिलो गर्नुभयो। पहिले नै यो काम गरेको भए दङ्गा यसरी ठाउँ-ठाउँमा भड्किने थिएन। हिजो राति तपाईंले देशको नाममा सम्बोधन गर्नुभयो, गृहमन्त्रीले सम्झौता गर्नुभयो, तर यो चार दिन पहिले गरिदिएको भए यस्तो अवस्था आउने थिएन। तपाईंहरूले संवेदनशीलता देखाउनुभएन,’ महतोले प्रधानमन्त्रीलाई भनेका थिए।
प्रधानमन्त्रीले चार पाँच दिनसम्म आफ्नो प्रयासले काम गरिरहेको जबाफ दिए। ‘प्रधानमन्त्रीले प्रशासनले काम गरिरहेको थियो भन्ने जबाफ दिनुभो,’ महतोले भने।
त्यसपछि आफूले मधेसबारे प्रधानमन्त्रीलाई दुई कुरा सम्झाएको बताए।
पहिलो, रास्वपालाई आएको भोट। दोस्रो, संघीयतालाई लिएर रास्वपा र बालेनले दिएको धोका।
‘यस्तो संवेदनशील अवस्थामा प्रशासनले काम गरेर मात्र हुन्न। त्यसको लागि त तपाईं पो बोल्नुपर्छ त। मधेसले तपाईंलाई कति माया गरेको छ थाहा छ? तपाईंले पाएको १८२ मतमा प्रत्यक्षतर्फ ७५-८० सिट र समानुपातिकमा लाखौं भोट मधेसले नै दिएको हो। तपाईं त्यो कुर्सीमा बस्नुभएको मधेसको दुई तिहाइ समर्थनले हो। यस्तो बेला नबोल्दा जनताले घात भएको महसुस गर्छन्,’ महतोले भने।
१८ वर्ष पहिले मधेस आन्दोलनमा सयौं सहिद हुँदा गिरिजाप्रसाद कोइरालाले ८ बुँदे सम्झौता गरेको कुरा बालेनलाई सम्झाए।
‘त्यो सम्झौता हुँदा प्रचण्ड र माधव नेपाल साक्षी हुनुहुन्थ्यो तर २०७२ मा संविधान बनाउने बेलामा त्यसलाई रद्दीको टोकरीमा फालियो। मधेसीको छातिमा गोली ठोकेर संविधान जारी गरियो, त्यो धोका मधेसले पाएको हो,’ महतोले प्रधानमन्त्री शाहलाई सम्झाए, ‘अहिले फेरि तपाईंबाट पनि त्यही धोका पाउने हो कि भन्ने डर मधेशलाई लागेको छ।’
प्रधानमन्त्री बालेनले गएको चुनावमा जनकपुर गएर संघीयताको वाचा गरे पनि पछि धोका दिएको भनेर आफूले गुनासो गरेको बताए।
‘तपाईं जनकपुर गएर ‘मधेसको छोरो प्रधानमन्त्री हुन्छ, संघीयता बलियो बनाउँछु’ भन्ने तर चितवनको महाधिवेशनमा सङ्घीयता विरोधी प्रस्ताव पारित गर्ने, यो बेइमानी र धोका भएन?,’ महतोले बालेनलाई सोधे।
प्रधानमन्त्रीले उनलाई सम्झाए, ‘तपाईँले गलत बुझ्नुभयो, भाषा त्यसरी निर्माण भयो। हामी सङ्घीयता विरोधी होइनौँ, प्रदेश सभालाई सानो पार्ने र मन्त्री घटाउने कुरा मात्र गरेको हो। विरोधी होइन। मैले सङ्घीयता बलियो बनाउँछु भनेको हो।’
यो सरकार परिवर्तन, सुशासन र समृद्धिका लागि बनेको भन्दै नेताहरूले प्रधानमन्त्रीलाई भने- मधेसले भने अधिकार, पहिचान र बलियो सङ्घीयताका लागि भोट दिएको हो।
‘यसमा इमानदार हुनुपर्यो र धोका हुनुभएन,’ मधेसका नेताहरूले भनेका थिए। त्यसबाहेक सुनसरीको घटनामा भएको सम्झौता हुबहु लागू हुनुपर्ने र दोषीलाई कारबाही गर्न पनि माग गरेको महतोले बताए।
‘विगतको सरकारले पनि मधेसीको छातीमा गोली ठोक्थ्यो, तपाईंको सरकारले पनि सुनसरीमा गोली ठोक्यो, के फरक भयो र?’ आफूले भनेको सम्झिँदै महतोले भने, ‘यस्तो हुन भएन।’
प्रधानमन्त्री बालेनले भने अनुसन्धान भइरहेको र दोषी जो सुकै भए पनि कारबाही हुने कुरा सम्झाए। त्यस्तै प्रधानमन्त्री बालेनले मधेसमा सद्भाव कायम राख्ने काममा सरकारलाई सघाउन र समाजमा हिंसा भड्किन नदिन नेताहरूलाई अपिल गरेको पनि महतोले बताए।