नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरले १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य रहेका तर विशेष महाधिवेशनबाट आएको कार्यसमितिभन्दा बाहिर रहेका १११ जनामध्ये ३५ जना केन्द्रीय सदस्य नबनेर पार्टी एकताका लागि तयार रहेको बताएका छन्।
उनले यो कुरा आज पार्टीभित्रका संस्थापन र इतर पक्ष मिलाउन भन्दै साउन २० मा एकता भेला आयोजना गर्नेबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भनेका हुन्।
कांग्रेसमा गत पुसमा विशेष महाधिवेशन भएर गगन थापा नेतृत्वमा कार्यसमिति आएको थियो। उक्त महाधिवेशनमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष सहभागी भएको थिएन। संस्थापनइतर पक्षले विशेष महाधिवेशनबाट आएको कार्यसमितिमा १४ औं महाधिवेशनका १११ जना केन्द्रीय सदस्य समाहित गराउन माग गरिरहेको छ।
त्यसतर्फ लक्ष्य गर्दै महरले भने, ‘हामी ३५ जना केन्द्रीय सदस्य नबसेर बरू पार्टी एकताका पक्षमा उभिन्छौं, बाँकीलाई सभापतिजीले मिलाउनुस्।’
कसैको स्वार्थका कारण कांग्रेस पार्टी फुट्न नहुने पनि उनले बताए।
‘त्यसैले हामीले देश र कांग्रेस जोड्ने नयाँ अभियान सुरूवात गरेका छौं, देशभरका प्रतिनिधिहरूसहित साउन २० मा काठमाडौंको सुकेधारामा एकता भेला गर्छौं, संस्थापन र इतर पक्षका नेताहरूलाई एकै मञ्चमा ल्याउने हाम्रो प्रयास हो।’
उनले पार्टी एकतामा दबाब दिन अनसनदेखि वडा र टोलसम्म हस्ताक्षरलगायत दबाब अभियान सञ्चालन गरिने पनि बताए। ‘कसैको स्वार्थले पार्टी फुट्न दिन हुँदैन। हामी सिंगो कांग्रेसका पक्षमा छौं,’ उनले भने, ‘अहिले हामीलाई कुनै पद चाहिएन तर पार्टी मिल्नुपर्छ। यो पार्टीमा सबैको योगदान छ। हामी ३५ जना केन्द्रीय सदस्य बस्दैनौं, बाँकीलाई मिलाएर सभापतिजीले लैजानुपर्छ।’
उनले पार्टी एकताका पक्षमा संस्थापन र इतर दुवै पक्ष देखिएको पनि बताए। ‘देशभरका ९९.९ प्रतिशत शुभचिन्तक र क्रियाशीलहरू पनि एकीकृत कांग्रेसकै पक्षमा छन्,’ उनले भने।
उनले क्रियाशील अद्यावधिक र १४ औंका केन्द्रीय सदस्यलाई विशेषबाट आएको कार्यसमितिमा राख्ने कुरा इगोको विषय बनाउन नहुने पनि बताए। तर भागबन्डा भने गर्न नहुने उनको भनाइ छ। महाधिवेशन आउन दुई महिना रहेकोले महाधिवेशन वातावरण बनाउनुपर्ने तर्फ सबैले जोड दिनुपर्ने उनले बताए।
‘दुवै पक्ष मिल्नुपर्छ भन्नेमा हामी छौं, मिल्दिनँ भन्दैनन्, मिलेको पनि देखिँदैन,’ उनले भने, ‘हामीले पटक पटक ध्यानाकर्षण गराएका छौं, दुवै पक्ष एकताका लागि तयार पनि देखिन्छन्। फुटको डिलमा पुगेको कांग्रेसमा सबै विचार समूहलाई एकै ठाउँमा राखेर साउन २० गते कार्यक्रम गर्दैछौं।’