सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले आफ्नो पार्टीका कार्यकर्ताहरू हिन्दुवादी अभियन्ता हुन पाउने बताएका छन्।
जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता झाले हिन्दुवादी अभियानमा लाग्न पाउनु कार्यकर्ताहरूको व्यक्तिगत स्वतन्त्रता भएको बताए।
सुनसरी घटनापछि जनकपुर लगायत तराईका विभिन्न जिल्लामा हिन्दुवादी संगठनहरूले प्रदर्शन गर्दै आएका थिए। त्यसै क्रममा जनकपुरमा भएको प्रदर्शन साम्य पार्न सरकारले 'हिन्दु सम्राट सेना' नामको संगठनसँग वार्ता गरेको थियो। उक्त वार्तामा हिन्दु सम्राट सेनाका तर्फबाट सहभागी एक व्यक्ति रास्वपा सदस्य भएको खुलेपछि त्यसबारे जबाफ दिँदै रास्वपा नेता झाले हिन्दुवादी अभियन्ता हुन पाउने स्वतन्त्रता आफ्ना सदस्यहरूसँग रहेको भनी बचाउ गरेका हुन्।
'यो कुरा कस्तो हो भने, हाम्रा १५ जना कार्यकर्तामध्ये एक जना वार्तामा हुनुहुन्थ्यो। उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य हो, तर उहाँ हिन्दुवादी अभियन्ता पनि हो। त्यो उहाँको व्यक्तिगत स्वतन्त्रता हो। हिन्दुवादी अभियन्ता हाम्रो पार्टीको सदस्य पनि हुन पाउनुहुन्छ,' उनले भने।
उनले अगाडि भने, 'उहाँले नै यो आन्दोलनमा तोडफोड, आगजनी र हत्या-हिंसामा जानुको सट्टा 'होइन वार्ता गरौं' भनेर सबैलाई वार्ताको टेबलमा ल्याउनुभयो। के कुनै पार्टीको सदस्यले सरकारसँग वार्ता गर्न पाउँदैन? आन्दोलनमै जानुपर्ने, तोडफोड नै गर्नुपर्ने र हत्या-हिंसामै सीमित हुनुपर्ने? कस्तो तर्क गरेको सञ्चार माध्यमले? रास्वपाका भ्रातृ संगठनहरू छैनन्, तर धर्मप्रतिको आस्था हाम्रा पार्टीका सदस्यहरूले पनि राख्न पाउनुहुन्छ। उहाँहरू धर्म-आस्थाको अभियन्ताका रूपमा हामीसँगै वार्ताको टेबलमा पनि आउनुपर्छ र आउन पाउनुहुन्छ।'
पार्टीको कुनै पनि कार्यकर्ता कुनै धर्मप्रति आस्था राख्ने व्यक्ति हुन पाउने र परिवारको सदस्य हुन पाउने कुरा पनि उनले स्पष्ट पारे।
'एक जना पार्टीको सदस्य कुनै धर्मप्रति आस्था राख्ने व्यक्ति हुन सक्छ; ऊ बुबा, आमा, श्रीमती वा श्रीमान् हुन सक्छ। जे पनि हुन सक्छ नि! तिमी रास्वपा हौ, त्यसैले छोरा हुन पाउँदैनौ, भाइ हुन पाउँदैनौ भन्नु कहाँको तर्क हुन्छ? म भन्न चाहन्छु — रास्वपाको सदस्यको जीवनको अर्को अंश पनि हुन्छ। उहाँहरू त्यहाँबाट वार्ताको टेबलमा पनि आउन पाउनुहुन्छ। आउनुभयो, उहाँहरूको माग हामीले बुझ्यौं, ग्रहण गर्यौं र सम्भावना भएका मागहरूप्रति त्यसरी नै अघि बढ्नेछौं,' उनले भने।