नेपाली कांग्रेसले १५ औं महाधिवेशनका लागि क्रियाशील नवीकरण/अद्यावधिक गर्न अन्तिम पटक समय दिएको छ।
भदौ १५ देखि १९ गतेसम्म क्रियाशील नवीकरण र अद्यावधिक गर्न सकिने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको हो।
भदौ २४ गतेदेखि गाउँ/नगर अधिवेशन सुरू हुनेछ। अधिवेशनमा कोही पनि नछुटुन् भन्नका लागि क्रियाशील अद्यावधिक गर्न ४ दिन समय दिइएको पार्टीले जनाएको छ।
‘नेपाली कांग्रेसका सभापति गगन थापाको समुपस्थितिमा महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा भदौ १४ गते बसेको समितिको बैठकले— पार्टीको वृहत्तर हित, एकता र साथीहरुको अनुरोधलाई ध्यानमा राखी नवीकरण र अद्यावधिक गर्न छुट हुनु भएका क्रियाशील सदस्यहरूले २०८३ भदौ १५ देखि १९ गतेसम्ममा आफ्नो क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक गर्न सकिने गरी समयावधि कायम गर्ने निर्णय गरेको छ,’ कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
निवर्तमान सभापति शेरबहादुर देउवासहित अधिकांश पूर्वपधिकारीहरू र संस्थापनइतर पक्षका केही जिल्ला सभापतिसहित कार्यकर्ताले क्रियाशील सदस्यता अद्यावधिक गरेका छैनन्। उनीहरूले गत पुस १० गतेभित्रै नवीकरण भने गरेका थिए। गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी नरहेका कतिपय नेताहरूले क्रियाशील अद्यावधिक गरेका छैनन्।
कांग्रेसले यसअघिको केन्द्रीय समितिले तोकेको कार्यतालिकाअनुसार असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन र त्यसअघि मातहत समितिका अधिवेशनहरू गर्ने गरी हालै केन्द्रीय निर्वाचन समितिमार्फत् कार्यतालिकासमेत ल्याएको थियो।