राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट सिर्जित संकट सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रिय सभाको आजको बैठकमा विशेष सम्बोधन गर्दै अध्यक्ष दाहालले विपद् प्रभावित क्षेत्रमा खोजी, उद्धार, उपचार, राहत र पुनर्निर्माणका लागि सरकार र सम्बद्ध निकायहरूलाई विभिन्न कदम चाल्न आग्रह गरेका हुन्।
अध्यक्ष दाहालले विपदमा परी घाइते भएका नागरिकहरूको शीघ्र र पूर्ण रूपमा निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
त्यस्तै सम्पर्कविहीन रहेका नागरिकहरूको खोजी तथा उद्धार कार्यलाई उच्च प्राथमिकतामा राखी उपलब्ध सम्पूर्ण स्रोत, साधन, प्रविधि र जनशक्तिको अधिकतम परिचालन गर्न आग्रह गरेका छन्।
राहत सामग्री संकलन, भण्डारण र वितरणलाई पारदर्शी एवं आवश्यकतामा आधारित बनाउँदै वास्तविक पीडितसम्म समयमै पुर्याउन र राहत वितरणसम्बन्धी जनगुनासो तत्काल सम्बोधन गर्न उनले सरकारलाई सचेत गराएका छन्।
'राहत सामग्रीको सङ्कलन, भण्डारण, ढुवानी र वितरणलाई पारदर्शी, व्यवस्थित तथा आवश्यकतामा आधारित रही वास्तविक प्रभावित नागरिकसम्म समयमै राहत पुग्ने सुनिश्चितता गर्न आवश्यक छ', दाहालले भने, 'राहत वितरणका क्रममा देखिएका समस्या तथा जनगुनासोलाई तत्काल सम्बोधन गर्नसमेत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछु।'
त्यसैगरी पहिचान हुन नसकेका शवहरूको पहिचानका लागि डिएनए तथा फरेन्सिक जस्ता वैज्ञानिक प्रविधिको प्रयोग गरी शवको सम्मानजनक र सुरक्षित व्यवस्थापन गर्न पनि आग्रह गरेका छन्।
'क्षतिको यथार्थ, वस्तुगत तथा क्षेत्रगत मूल्याङ्कन गरी (पिडिएनए) लगायतका आवश्यक प्रक्रिया शीघ्र अघि बढाउन तथा त्यसका आधारमा राहत, पुनर्स्थापना, पुनर्निर्माण र क्षतिपूर्तिका लागि स्पष्ट कार्ययोजना निर्माण गर्न आग्रह गर्दछु', दाहालले भने, 'विपद्को बेलामा सरकारको तर्फबाट राष्ट्रिय विपत्तिका विरुद्ध लड्न पार्टी संगठनभन्दा माथि उठेर एउटा ठोस योजनाका साथ राष्ट्रिय एकता कायम गरि अगाडि बढ्न पनि सरकारको ध्यानाकर्षण गराउँदछु।'