गण्डकी प्रदेशमा नेकपा एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयमा नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद फणिन्द्र देवकोटालाई नियुक्त गर्ने तयारी गरिएको छ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देवकोटालाई आजै मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।
उनको शपथ बिहान साढे ११ बजे गराउने तयारी छ।
‘मन्त्रीको नियुक्ति आजै हुँदैछ,शपथका लागि तयारी गरिएको छ,’ मुख्यमन्त्रीको सचिवालयले भन्यो।
आज एक जनामात्रै मन्त्री नियुक्त गर्ने तयारी रहेको सचिवालयले जनाएको छ।
देवकोटालाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने टुंगो भने लागिसकेको छैन।
गण्डकी प्रदेश सभामा नेसपाबाट देवकोटा मात्रै सांसद छन्।
एमालेका चार मन्त्रीले सामूहिक राजीनामा दिएपछि गण्डकी सरकारमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, भूमि व्यवस्था, कृषि तथा सहकारी, स्वास्थ्य र उद्योग तथा पर्यटन मन्त्रालय रिक्त छन्।
केन्द्रमा भएको निर्णयअनुसार एमालेका चारै जना मन्त्रीले गण्डकी प्रदेश सरकारबाट सामूहिक राजीनामा दिएका थिए। देवकोटा यसअघि पनि गण्डकी प्रदेश सरकारमा मन्त्री थिए। गत वर्ष जेएनजी आन्दोलनपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए।
मुख्यमन्त्री पाण्डेले उनलाई पुनः मन्त्री नियुक्त गर्न लागेका हुन्।