प्रधानमन्त्री बालेन शाहले शरीर थकित भए पनि विश्राम लिने छुट नभएको बताएका छन्।
भोटेकोशी बाढीको ७ दिनपछि प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले सम्बोधन गरेका हुन्।
भोटेकोशी–त्रिशूली बाढीका कारण हालसम्म एक हजारभन्दा धेरै नेपाली नागरिकहरूले ज्यान गुमाएका छन्। अझै पनि झण्डै ३ हजार बेपत्ता छन्।
प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै शाहले 'आफ्नो मान्छे अझै फेला नपरेर बाटो हेरिरहनुभएको नागरिकहरूको पीडामा गहिरो महसुस गरेको' बताएका छन्।
'यो पीडा रसुवा नुवाकोट वा धादिङको मात्र होइन। सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात हो', शाहले भने, 'तर यतिबेला हामीलाई शरिर थकित भयो भनेर विश्राम लिने छुट छैन। मन भक्कानिँदा एक आपसमा बिलौना गर्ने समय छैन।'
उनले आँशुभन्दा पनि जनतालाई आड भरोसा दिने बताए।
'संकटको यो घडीमा देशको नेतृत्वले आँसु हैन जनतालाई हिम्मत आड र भरोसा दिनुपर्छ भन्ने यथार्थ स्वीकारेका छौँ', शाहले भने, 'दृढ संकल्प र साहसका साथ यो विपत्तीमा लड्नुको विकल्प थिएन र छैन।'