प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितको उद्धारमा विदेशी सहयोग लिन भएको ढिलाइबारे प्रस्टीकरण दिएका छन्।
बाढी आएको सात दिनपछि प्रतिनिधिसभा बैठकमा घटनाबारे जानकारी गराउँदै प्रधानमन्त्री शाहले ठूलो विपद्का बेला अन्तर्राष्ट्रिय सहयोग नलिने नीति नरहेको जनाएका हुन्।
'प्रभावित क्षेत्रमा आवश्यकता अनुसार सहयोग लिन सुरूदेखि नै हामीले अन्तर्राष्ट्रिय मुलुकहरूसँग समन्वय गरेकै थियौँ। प्रक्रिया समेत छोटो गराएर हामीले अन्तर्राष्ट्रिय सहयोग लिने प्रयास गरेका थियौँ,' शाहले भने, 'मित्रराष्ट्र चीन र भारतबाट उहाँहरूले टेक्निसियनहरू पठाउनुभएकै थियो। उहाँहरूले सुरूकै दिनदेखि (पहिलो दिन, दोस्रो दिन) पनि रेकी गरिराख्नुभाको थियो।'
शाहले लेदो सहितको बाढी भएकाले सुरूआतमै उद्धारकर्ता विदेशबाटै आएको भए पनि उक्त स्थानमा ओर्लन सक्ने अवस्था नरहेको जानकारी संसदमा दिए।
'त्यहाँ पुग्न सकिन्छ कि सकिँदैन भन्ने कुरा उहाँहरूले रेकी गरिसकेर, अनुगमन गरेर अहिले तत्काल ओर्लिन सक्ने अवस्था छैन, तुरून्तै ओर्लिन सक्दैनौँ, जुन बेला ओर्लिन सकिनेछ त्यतिबेला नै भारतको अथवा चीनको टेक्निसियनहरू, नेपाली टेक्निसियन, आर्मी उहाँहरू चाहिँ पुग्ने अवस्था भएपछि मात्रै पुग्नुभएको हो', शाहले भने, 'यो चाहिँ विशेष अवस्था हो।'
प्रधानमन्त्री शाहले हिलो र लेदोमा एक्साभेटर सुरूआतमै लजाने अवस्था नरहेको पनि बताए।
'हिलो-लेदोमा एक्साभेटर मात्रै नभएर आर्मी, सशस्त्र प्रहरीका व्यक्तिहरू पनि अडिने ठाउँ थिएन, त्यही भएर उहाँहरूले सम्भव भएसम्म सुतेर त्यहाँसम्म पुग्ने प्रयास गर्नुभएको थियो,' शाहले संसदमा भने, 'एक्साभेटरलाई अडिने ठाउँ, हेलिकप्टरलाई ल्यान्ड हुने ठाउँ भएपछि मात्रै त्यहाँनिर उद्धार कार्यहरू सुरू गरिएको हो।'
भदौ १० रसुवाको भोटेकोशी नदीमा हिमपहिरोपछि गेग्रान सहितको ठूलो बाढी आएको थियो। बिहान ९ बजेको समयमा आएको बाढीले यो समाचार तयार पार्दासम्म एक हजार भन्दा धेरै व्यक्तिको ज्यान लिएको पुष्टि भएको छ।
बाढीका कारण भोटेकोशी–त्रिशूली नदीमा निर्माणाधीन सुरूङ मार्गहरूमा लेदो र गेग्रान भरिएका छन्। ती सुरूङ मार्गबाट धेरै कामदार फसेको हुनसक्ने आकलनका साथ उद्धार कार्य भइरहेको छ।
उद्धार कार्यका लागि भारतको विज्ञ टोली भदौ १२ गते काठमाडौं ओर्लिएको थियो। त्यस्तै चीनको टोली पनि शनिबार नेपाल आइपुगेको थियो।
कतिपय विज्ञहरूले यस्तो घटनामा विदेशी सहयता लिएर उद्धार कार्यमा तीव्रता दिनुपर्ने धारणा राखिरहेका छन्।
साथै विदेशका ठूला हेलिकप्टर ल्याएको भए ती हेलिकप्टरको प्रयोगबाट ठूला ठूला एक्साभेटर सुरूङ मार्गको मुखमा पुर्याउन सकिने धारणा राख्दै आएका छन्।