प्रधानमन्त्री बालेन शाहले दिनरात खोजी र उद्धारमा खटिएका सेना र प्रहरीको आलोचना नगर्न आग्रह गरेका छन्।
प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले सेना, प्रहरी र सशस्त्रले आफूले गर्ने काम गरिरहेकाले आलोचना नगर्न आग्रह गरेका हुन्।
'उहाँहरूलाई चाहिँ 'यो काम भएन, त्यो काम भएन' भन्दा पनि उहाँहरूलाई चाहिँ प्रोत्साहन गर्नेतर्फ चाहिँ हाम्रो सम्पूर्ण निकायहरू लाग्नुपर्छ भन्ने कुरा पनि अनुरोध गर्न चाहेँ,' उनले भने।
यद्यपि खोजी र उद्धार कार्यका विषयलाई लिएर भइरहेका आलोचनाबाट सरकार विचलित नभएको उनले बताए।
'विभिन्न सोसल मिडिया, विभिन्न पत्रपत्रिकामा जुन गुनासो आएको छ, त्यो हामी पूर्ण रूपमा बुझ्छौँ। हामी त्यो गुनासो आएर हामी विचलित पनि भएका छैनौँ, किनभने तपाईंहरूलाई जति जानकारी थियो, त्यही जानकारीको आधारमा प्रतिक्रिया दिनुभएको छ,' उनले भने।