नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रधानमन्त्री बालेन शाहको शैलीप्रति टिप्पणी गरेका छन्।
प्रधानमन्त्री संसदमा आउने तर कसैको अनुहार पनि नहेर्ने गरेको भन्दै उनले यस्तो कार्यशैलीले प्रधानमन्त्रीलाई नै अप्ठ्यारोमा पार्ने बताए।
‘सरकारको मुख्य नेतृत्व जिम्मेवार र संवेदनशील हुनुपर्ने हो। आज आउनुभयो, केही ब्रिफिङ गर्नुभयो, यस अर्थमा त उहाँलाई धन्यवाद नै भन्न चाहन्छु,’ आज प्रतिनिधि सभा बैठकमा बोल्दै प्रचण्डले भने, ‘तर उहाँले अरूलाई पनि विश्वासमा लिनुपर्छ र अरूका अनुभव पनि महत्त्वपूर्ण हुन्छ भन्नेतिर उहाँको ध्यान गएन।’
प्रधानमन्त्रीले आफ्नै दल रास्वपाका सांसदलाई पनि विश्वासमा लिएको नदेखेको पनि उनले बताए।
‘कार्यशैलीले के देखाउँछ भने आफ्नै दलका सांसदलाई विश्वासमा लिने मेहनत गरेको मैले देख्दिनँ, उहाँ आउनुहुन्छ कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो, हामी तपाईंलाई सहयोग गर्छौं भनिरहेका छौं, कसैको पनि अनुहार हेर्न नपर्ने के हो यो तरिका, यसरी त हुँदैन,’ उनले भने।