प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दल नेता पुष्पकमल दाहाल 'प्रचण्ड' ले सामाजिक सञ्जालमा पोस्ट लेखेर अहिलेको संकट समाधान नहुने बताएका छन्।
बुधबार प्रतिनिधि सभामा सम्बोधन गर्दै संयोजक प्रचण्डले सामाजिक सञ्जालमा पोस्ट गरेर चुनाव जितेको भए पनि अहिलेको परिस्थिति समाधान नहुने बताएका हुन्।
'पीडित नागरिकले पोस्ट होइन। सोसल मिडियामा पोस्ट गरेर तपाईंहरूले चुनाव त जित्नु भयो, यो संकट समाधान हुँदैन,' उनले भने।
आज नागरिकले संकटमा राज्य देखियोस्, दुःखमा सरकार देखियोस् र विपत्तिमा राष्ट्र एकजुट देखियोस् भन्ने चाहेको उनले बताए।
'तपाईंहरूको नेता प्रधानमन्त्रीजी हामी सबैको पनि प्रधानमन्त्री उहाँ नै हो। उहाँले गम्भीर भएर सबैको विश्वास जित्न खोज्नुभएन भने समयले उहाँलाई पनि नपर्खिन सक्छ, ध्यान रहोस्,' प्रचण्डले भने।
भोटेकोशी बाढीपछि भइरहेको उद्धार कार्यबारे पनि प्रचण्डले टिप्पणी गरेका छन्।
'सरकार उद्धार कार्यमा सफल होइन, असफल भयो भन्ने जनगुनासो सुनिएको छ। हामी कसैले पनि ढाँटेर लुकाएर हुँदैन। जनपरिचालनको क्रममा र उद्धारमा सरकार असफल सिद्ध भयो,' प्रचण्डले भने, 'सरकारले घमण्ड गर्न हुँदैन। यो असफलताबाट सिकेर आगामी दिनमा अझ राम्रो सहकार्य र समन्वय र सबैलाई विश्वासमा लिएर जाने सोच्नुपर्छ। जसरी उद्धार कार्यमा सफल भएको छैन। सुरुङकै कुरामा पनि तुरुन्तै लिनुपर्ने पहलकदमी लिइएन। ढिलागरी लिइयो। बरू दुई दिनसम्म आफैँ गर्छौँ भनेको जस्तो कतै न कतै अलिक महत्त्वाकांक्षा र अहंकार प्रदर्शन भयो भन्ने कुरा जनताको तहबाट आएको छ।'
उनले सरकार सेना परिचालनमा सफल भएको तर जनपरिचालनमा चुकेको बताए।
'सेनाले गरेको काम पनि देखियो। धेरै जोखिम उठाएर उद्धार र राहतमा भूमिका खेलेको छ। सबैले धन्यवाद नै भनेका छौं। तर महाविपत्ति सामना गर्न सबै तहको सरकार, जनतालाई विश्वासमा लिएर परिचालन गर्नुपर्ने थियो। त्यो पुगेको छैन,' प्रचण्डले भने, 'सेना परिचालन भयो। जनपरिचालन भएन। जनपरिचालन नहुँदासम्म यो समस्याको वास्तविक समाधान गर्न असम्भव जस्तै हुन्छ।'
उनले भदौ १० बाढी गएलगत्तै सरकारका प्रधानमन्त्री र गृहमन्त्रीको सक्रियताको आफूले तारिफ गरेको बताए।
'त्यो दिनको प्रधानमन्त्रीको सक्रियता हेरेँ, बाढी आएको दिनको गृहमन्त्रीको सक्रियता हेरेपछि, राम्रो पहल हुन्छ भन्ने विश्वास छ, भनेको थिएँ,' प्रचण्डले भने, 'यसबीचमा सरकारको ध्यान प्रधानमन्त्री र मन्त्री सक्रिय भएर जाने आउनेमा देखियो। सुरुको सात दिनमा जे तदारुकता देखियो, पछिल्लो चरणको कार्यशैलीमा विरोधाभास देखियो।'
उनले विदेशी विज्ञहरूले सहयोगका लागि गरेको प्रस्तावमा समेत सरकारले तत्परता नअपनाएको बताए।
'विदेशी विज्ञहरूले सहयोग गर्छौं भन्दा जुन तत्परताका साथ त्यो सहयोग जुटाउन पहल गर्नुपर्थ्यो। पुगेन भन्ने जनगुनासो छ,' प्रचण्डले भने, 'अब राहत र तत्काल पुनर्स्थापना र दीर्घकालीन पुनर्निर्माणका लागि सरकार गम्भीर बनोस्। सरकारका लागि यो राम्रो औचित्य सिद्ध गर्ने अवसर प्राप्त छ। यो अवसर गुम्न नपाओस्।'
उनले सुरुङमा उद्धार ढिला भएको र सरकारले हात उठाउनुपर्ने अवस्था आएको बताए।
'ढिला भयो। अन्तिममा हात उठाउनुपर्ने, सकेनौं भन्ने ठाउँमा सुरक्षा निकाय पुग्नुपर्ने अवस्था बन्न गएको छ,' प्रचण्डले भने, 'त्यो गम्भीर शिक्षा यसबाट लिन जरुरी छ।'