श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई सामूहिक नेतृत्वमा लैजानुपर्ने फरक प्रस्ताव राखेका छन्।
धरानमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता किरातीले संस्थागत निर्णय र व्यक्तिगत जवाफदेहिताको स्पष्ट प्रणाली लागू गर्नुपर्ने उल्लेख गरेका छन्।
श्रम संस्कृति पार्टीलाई सुव्यवस्थित र संस्थागत गर्न तत्काल गर्नुपर्ने कामअन्तर्गत उनले संस्थागत निर्णय प्रक्रियामा समेत जोड दिएका छन्।
‘महत्त्वपूर्ण निर्णयहरू पदाधिकारी तथा सम्बन्धित कमिटीको छलफल र निर्णयबाट गर्ने र निर्णयको अभिलेख राख्ने,’ किरातीले प्रस्तावमा भनेका छन्, ‘प्रभावकारी अनुशासन आयोग गठन गरी आचारसंहिता लागू गर्ने तथा कारबाही र आन्तरिक विवादलाई विधिसम्मत प्रक्रियाबाट समाधान गर्ने।’
नेता तथा कार्यकर्ताको क्षमता, अनुभव, रुचि, योगदान र आवश्यकताका आधारमा जिम्मेवारी निर्धारण गर्नुपर्ने भन्दै वरिष्ठ नेता किरातीले आवश्यक विज्ञसहित अध्यक्षको सचिवालय गठन गर्ने तथा नेतृत्वको कार्यसम्पादनको नियमित समीक्षा गर्नुपर्ने प्रस्ताव गरेका छन्।
आन्तरिक लोकतन्त्र र संवादमा जोड दिएका किरातीले नेतृत्व र कार्यकर्ताबीच नियमित संवाद, सुझाव तथा मतभेद समाधानका लागि प्रभावकारी संयन्त्र विकास गर्नसमेत प्रस्ताव गरेका छन्।
पार्टीमा आर्थिक पारदर्शिता हुनुपर्ने र त्यसका लागि आर्थिक नियमावली, बजेट, लेखा तथा नियमित लेखापरीक्षणको स्पष्ट प्रणाली लागू गर्नुपर्ने किरातीले प्रस्ताव गरेका छन्।
प्रशिक्षण र नेतृत्व विकासमा समेत पार्टीको ध्यान पुग्नुपर्ने उनको भनाइ छ।
‘नेता तथा कार्यकर्ताका लागि नियमित राजनीतिक, वैचारिक, संगठनात्मक तथा नेतृत्व विकाससम्बन्धी प्रशिक्षण सञ्चालन गर्ने,’ किरातीले आफ्नो प्रस्तावमा भनेका छन्, ‘पार्टीका महत्त्वपूर्ण कार्यक्रम सम्बन्धित कमिटी वा विभागसँग पूर्वसमन्वय र छलफल गरेर मात्र सञ्चालन गर्ने।’