भोटेकोशी-त्रिशूलीको बाढीपछि उत्पन्न विपद व्यवस्थापनका लागि अमेरिकाले नेपाललाई सुरूङभित्र पठाउन मिल्ने केही उपकरणहरू पठाएको छ।
अमेरिकाले दुईवटा सैन्य कार्गो जहाजमार्फत बुधबार नेपाल ल्याएका सामानमा दुईवटा उपकरण सहित ५,००० वटा विपत पीडित उद्धार सामग्री छन्। यी सामग्री बाढी/पहिरोमा ज्यान गुमाएका वा बेपत्ता व्यक्तिको खोजी तथा उद्धारमाप्रयोग हुने विशेष सामग्री हुन्।
साथै ५०० वटा प्राथमिक उपचार किट, स्ट्रेचर र फ्रन्ट–एन्ड लोडर पनि ल्याइएको अमेरिकी दूतावासले आफ्नो फेसबुकमा उल्लेख गरेको छ।
अमेरिकी दूतावासले यो सहायता नेपाल सरकारले गरेको अनुरोधअनुसार आएको भनेको छ।
यसअघि अमेरिकाले बाढी प्रभावितका लागि घोषणा गरेको ३६ लाख अमेरिकी डलरको सहयोगभन्दा यो थप सहायता हो।
भदौ १० गतेको बाढीका कारण करिब एक दर्जन जलविद्युत आयोजनामा झन्डै ९ सय जना हराइरहेका छन्। ती जलविद्युत आयोजनाका सुरूङभित्र थुनिएका मानिसहरूको उद्धार अहिले चुनौतीपूर्ण बनेको छ। सुरूङभित्र छिरेको लेदो र गेग्रान निकाल्न नेपाललाई समस्या भइरहेको छ। उक्त उपकरण यसमा सहयोगी हुनसक्छ।






