भोटेकोशी बाढीबाट पीडित धादिङ, नुवाकोटका केही गाउँहरू पुगेर आएका छौं।
हामीहरू जानुको उद्देश्य थियो— तल के भइरहेको छ भनेर हेर्ने, बुझ्ने, जसको आधारमा हामीले सरकारलाई ठिक विषयमा घच्घच्याउन सकौं, जहाँ मद्दत गर्नुपर्ने मद्दत गर्न सकौं र हामी आफैले पनि पार्टीले पनि कहाँ के गर्दा हुन्छ भन्ने कुराको ठिक ढंगले हामीले त्यसको मेसो पनि पाउन सकौं भन्ने थियो।
यसको लागि विपद्मा काम गरिसक्नुभएको गोविन्द पोखरेल, मानबहादुर थापा, डा. लोचन कार्की लगायतको साथीहरू र त्यहाँका स्थानीय जनप्रतिनिधिहरूसहित हामीहरू गएका थियौं। योलगायत अरू हाम्रो पार्टीको साथीहरूले गर्नुभएको अध्ययन, अवलोकन, अन्तर्क्रियाबाट आएका सबै कुरालाई समेटेर केही दिनभित्रमा पार्टीको बैठकबाट हामी विस्तृत रिपोर्ट बनाउँछौं।
सरकारलाई बुझाउनुपर्ने सरकारलाई बुझाउँछौं, हामी आफूले अवलम्बन गर्नुपर्ने हामी आफू अवलम्बन गर्छौं। त्यो त्यही बेलामा गरौँला। अहिलेको लागि भने मैले नुवाकोट लगायत गाउँहरूमा जाँदै गर्दा मैले आफूले फिल गरेको केही कुराहरू सेयर गर्नुपर्छ भन्ने लाग्यो।
देवीघाटमा एकजना खड्गबहादुर खड्का भन्ने दाइले रुँदै मेरो हात समातेर टनेलमा आफ्नो ज्वाइँ अड्किएको र ज्वाइँको उद्धार कसरी हुन्छ, यसको बारेमा आवाज उठाइदिनुपर्यो भनेर भन्नुभयो। यो एउटा प्रतिनिधि आवाज मात्रै थियो।
म बाटोमा जाँदै गर्दा रसुवाको थुप्रै टनेलमा अड्किएको साथीहरूका, परिवारका सदस्यहरूले, आफन्तहरूले यति धेरै मानिसले त्यो बीचमा आइसके पछाडि पनि फोन गरिराख्नुभएको छ, हामीलाई भनिराख्नुभएको छ, सरकारलाई भनिदेऊ भनेर। मसँग भन्ने कुराहरू धेरै छैन।
तर सरकारलाई यति कुरा भन्नुपर्छ भन्ने लाग्छ— हामीले जुन बेलामा यसका निम्ति बाहिरको सहयोग लिनुपर्छ भनेर भन्यौं, समयमा सहयोग माग्ने काम भएन। चुक्ने कुरा भइसक्यो। अब फेरि गल्तीलाई ढाकछोप गर्ने भन्दा पनि अहिले पनि केही गर्न सकिन्छ, जे गर्न सकिन्छ बेस्ट गर्ने कोसिस तपाईंहरूले गर्नुपर्छ। एउटा गल्ती भयो, त्यो गल्तीलाई ढाक्नका निम्ति अर्को गल्ती, अर्को गल्ती गर्ने कुरा नगर्नुहोला। किनभने एउटा मात्र लाइफ बचाउन सक्यौं भने पनि त्यो एकदमै धेरै ठूलो कुरा रहन्छ। सुरूमा अड्किएको प्रत्येक नेपाली नागरिकको परिवार अहिले केबाट गुज्रिरहेको छ भन्ने कुराको त्यो प्रतिको संवेदनशीलता राज्यमा बसिरहेका प्रत्येकले, हामी प्रत्येकले त्यो राख्नुपर्छ।
दोस्रो विषय, शव व्यवस्थापनसँग जोडिएको छ।
सेरखाली भन्ने ठाउँमा भरत अर्याल भन्ने दाइले मलाई रुँदै मेरो हात समातेर आफ्नो घर देखाउनुभयो, खेत देखाउनुभयो र भन्नुभयो— कि तल यत्रतत्र त्यहाँ जताततै लासहरू छरिएका थिए। कति पानीले बगाएर गयो तर अहिले पनि थुप्रै लासहरू त्यहीँ अड्केर बसेको छ। त्यसको गन्ध आइरहेको छ, हामीले पनि त्यो महसुस गर्न सक्थ्यौँ। र उहाँले भन्दै हुनुहुन्थ्यो— यो त हाम्रै दाजुभाइहरूको शरीरको गन्ध हो यो। न यो गन्हायो भनेर यसबाट भाग्नू, न यहाँभित्र हामी बसिरहन सक्नू। हामी यति धेरै बिलौनामा परेका छौँ।
यो खालको समस्या त त्यहाँ हामीले देख्यौं नै। तर त्यहाँ भेट्नेहरू कतिजनाले कतिले टेलिफोनमा लगातार जो आफ्नो मान्छेहरू खोजिराख्नुभएको छ, जसले कम्तीमा सास नभेटिए ता पनि लास भए पनि भेटिन्छ भनेर खोजिराख्नुभएको छ, उहाँहरूको त्यो पीडा पनि हाम्रो प्राथमिकतामा पर्नुपर्छ। यो संवेदनशीलता हामी सबैले राख्नैपर्छ।
तेस्रो कुरा, मैले यो गाउँहरू जाँदै गर्दाखेरि स्थानीय सरकारको साथीहरूले एकदमै मेहनत गरेर काम गरेको देखेँ। गल्छी, तारकेश्वर, रातमाटे, कोलोनी, ढुकुचे जति पनि ठाउँहरूमा म पुगेँ, त्यहाँको स्थानीय सरकारमा बसेको साथीहरूले एकदमै धेरै मेहनत गर्नुभएको छ।
गल्छीको वडा नम्बर ६ को दीपक कार्की, जसको बारेमा अतिरञ्जित ढङ्गबाट एकजना सांसदले कुप्रचार गर्नुभयो, त्यहाँको स्थानीय साथीहरूले मलाई भन्दै हुनुहुन्थ्यो, दीपकजीलाई पनि मैले भेटेँ। दीपकजीले सबैभन्दा बढी जोखिम उठाएर बाढी आएको दिनदेखि कसरी मेहनत गर्नुभएको छ भन्ने कुरा उहाँ त्यहाँको साथीहरूले सेयर गर्दै हुनुहुन्थ्यो।
अलि माथि जाँदै गर्दा विदुर ३ मा बद्री रिमाल भन्ने वडा अध्यक्षलाई भेटेँ। उहाँले त्यो सङ्घको सरकारको लिमिटेड सहयोग हुँदै गर्दाखेरि पनि शव व्यवस्थापनमा कति बिजोडले काम गरिराख्नुभएको थियो भन्ने कुरा त्यहाँको स्थानीय अरू साथीहरूले बताइराख्नुभएको थियो।
अलि माथि कोलोनी गइसके पछाडि त्यहाँ कमल श्रेष्ठ भन्ने वडा अध्यक्ष भेटेँ। त्यत्रो विद्यालयको शिवराम श्रेष्ठ प्रिन्सिपल लगायतसँग मिलेर कति मजाले त्यहाँ त्यस्तो अप्ठ्यारोमा परेको साथीहरूको व्यवस्थापनमा जुटिराख्नुभएको छ।
अलि अगाडि गइसकेपछि राजकुमार श्रेष्ठ भन्ने अर्को वडा सदस्य, जसले त्यो सेल्टरमा बसिराख्नुभएको मानिसहरूको त्यहाँको औषधिको समस्या छ, खानपिनको समस्या छ, झोला बोकेको छ, डायरी बोकेको छ, एक-एकजना मान्छेको इन्डिभिजुअल प्रब्लम टिपेको छ, कहाँ हेल्प गर्न सकिन्छ लागेको छ, त्यो देखेँ।
अलि अगाडि ढुकुचेमा गइसकेपछि रमेश नेपाल भन्ने वडा अध्यक्ष भेटेँ मैले, जो आफैँ बाढीबाट पीडित हुनुहुन्छ। अर्काको घरमा आश्रय लिइराख्नुभएको छ, तर अहँ, एक छिन फुर्सद छैन। बिहान राहत कसरी बाँड्ने, कसरी मिलाउने, कसको घरमा के प्रब्लम परेको छ स्थानीय सरकारको साथीहरूले गजबले काम गरिराख्नुभएको मैले पाएँ।
यो पटक प्रदेशको सरकारले पनि फरक ढङ्गले काम गरेको मैले महसुस गरेँ। बहादुरसिंह लामा त्यहाँबाट निर्वाचित हुनुभएको प्रदेश सभाको सांसद हुनुहुन्छ। म गएको बेलामा उहाँ त्रिशूलीको अर्को पट्टि हुनुहुन्थ्यो, बट्टार पट्टि। त्यहाँ प्रदेश सरकारले आफू पैसा हालेर, सङ्घको सरकारको लाठो प्रयोग गरेर उहाँले तुइन राख्ने काम गर्दै हुनुहुन्थ्यो, अहिले त त्यो दुईवटै तुइन प्रयोगमा आइसकेको छ।
मसँग रमेश महत प्रदेशको अर्का सांसद हुनुहुन्थ्यो। उहाँले रसुवागढी जाने बाटोमा गरिएको कामहरूको बारेमा बताउनुभयो। मेरै अगाडि उहाँले त्यहाँ म सेल्टरमा जाँदै गर्दाखेरि खानेपानीको समस्या आयो, खानेपानीको प्रब्लम सोल्भ गर्नुभयो। टेम्पोररी स्कुल बनाउने कुराको लागि त्यहाँ समस्या आयो, त्यसको तुरुन्त समस्याको समाधान गर्नुभयो।
मैले प्रदेशका साथीहरूले पनि बडो मेहनतका साथ काम गरेको देखेँ।
यो कामको अनुभवको आधारमा, मैले देखेको आधारमा यसमा पनि मेरो संघीय सरकारलाई मेरो अनुरोध छ— कि फेडरल गभर्मेन्टले लिड गर्ने हो। सबैले तपाईँलाई मद्दत गर्छु भनिरहेका छन्, मद्दत गरिपनि रहेका छन्, हामीहरू सबै गरिरहेका छौँ, तर लिड तपाईंहरूले गर्नुपर्छ।
यतिखेर प्रादेशिक सरकारले के गर्ने हो? उनीहरू के भनिरहेका छन् भने हामी अरू जिल्लामा पठाएको बजेटलाई कटौती गरेर भए पनि यसमा हामी आफ्नो खर्च गर्न तयार छौं। उनीहरूसँग भएको स्रोतबाट, साधनबाट अहिले कुन-कुन कुराहरू गर्न सक्छन्? लोकल गभर्मेन्टले के-के गर्ने हो? लोकल गभर्मेन्टलाई थुप्रै त्यहाँ प्रभावित भएका लोकल गभर्मेन्ट भन्दा बाहिरका लोकल गभर्मेन्टहरू हामी साझेदारी गर्छौँ भनिरहेका छन्।
त्यहाँ म जाँदै गर्दा थुप्रै ठाउँमा बेली ब्रिज माग्नुभएको छ, सस्पेन्सन ब्रिज माग्नुभएको छ। कतिपय ठाउँमा के भन्नुभएको छ भने हामीलाई राहत चाहिँदैन, मिल चल्नको लागि बिजुली बत्ती भए पुग्छ। फरक-फरक खालको मागहरू छ। त्यसैले सङ्घको सरकारले के गर्ने, प्रदेशको सरकारले के गर्ने, स्थानीय सरकारले के गर्ने, अहिलेको चरणमा के गर्ने, अलि पछाडि पुनर्निर्माणको चरणमा फेरि आफ्नो भूमिका हुन्छ, अहिले यो खोजी, उद्धार र राहतको अहिलेको यो प्रारम्भिक चरणमा कसले के गर्ने भन्ने बारेमा यसलाई स्पष्ट छुट्ट्याइदियो भने थुप्रै कामहरू अहिले पनि व्यवस्थित ढङ्गले हुन सक्ने मैले तल यो कुरा देखेर आएँ।
पाँचौँ विषय राहतसँग जोडिएको छ।
अहिले पनि कति सुरूङमा अड्किनुभएको नागरिकहरूको उद्धार गर्ने कुरा अहिले पनि सबैभन्दा बढी प्राथमिकतामा पर्नुपर्छ। अझै पनि कतिपय नागरिकहरू लाई यो बेपत्ता जो हुनुभएको छ, उहाँहरूलाई खोज्ने कुरा त्यो प्राथमिकतामा पर्नुपर्छ। जो अहिले पीडाबाट बचेर कहीँ आश्रय लिइराख्नुभएको छ, अहिले यो बेलामा उहाँहरू थुप्रै अप्ठ्यारोमा हुनुहुन्छ। उहाँहरूले पनि अहिले कम्तीमा बाँच्न सक्ने अवस्था हामीले निर्माण गर्नुपर्ने छ।
यो सन्दर्भमा मैले के देखेँ भने थुप्रैले सहयोग गरिराख्नुभएको छ, सहयोग पनि गर्न चाहनुभएको छ। तर यहाँ एउटा कुरामा ध्यान दिनुपर्ने रहेछ। जस्तो मैले गल्छीको वडा अध्यक्षलाई सोधेँ— तपाईँहरूलाई के समस्या छ, अहिले तत्काल हामीले के मद्दत गर्न सक्छौँ? उहाँले भन्नुभयो— हामीलाई पानीको अलिकति हेल्प चाहिएको छ।
बागमती प्रदेशको सुस्मा ढकालले तुरून्त पानीको व्यवस्था गर्दिने कुरा गर्नुभयो, टेलिफोनमा हामीले सम्पर्क गरेपछि। उहाँले भन्नुभयो— अहिले अर्कै पनि चाहिएको छ हामीलाई अहिले। हामीलाई अस्थायी शौचालय चाहिएको छ। गोकर्णेश्वर नगरपालिकाको मेयर दीपक रिसाललाई मैले त्यहीँबाट फोन गरेँ, उहाँले अस्थायी शौचालयको जिम्मा लिनुभयो, सम्भवतः अस्थायी टोइलेटको काम आज-भोलिसम्म बन्ने पनि भइसकेको छ। अलि अगाडि कोलोनीमा गएपछि मैले 'यहाँ के छ' भनेर सोध्दै गर्दाखेरि, त्यहाँ 'हामीलाई चाहिने राहत चाहिने भन्दा बढी भइसक्यो, लत्ताकपडा पनि छ तर यहाँ मान्छेहरू घरपरिवार सबै छोडेर एक जोर लुगामा छ।
मैले एकजना साथी हुनुहुन्थ्यो न्हुछेनारायण श्रेष्ठ, उहाँले १५ लाख रुपैयाँ जतिको व्यवस्थापन गर्न सक्छु भनेर भन्नुभएको थियो, मैले तुरुन्तै त्यहाँ जोडिदिएँ। अब अहिले उहाँहरूको डिमान्ड अनुसारको सरसामानहरू किनेर उहाँले त्यहाँ पुर्याउँदै हुनुहुन्छ। मैले त्यहाँ देखेँ, कति गर्भवतीहरू हुनुहुन्छ, कतिजना वृद्धा हुनुहुन्छ, महिलाहरूको आफ्नै खालको आवश्यकताहरू छ, बुढाबुढीको आफ्नै खालको निडहरू छ। त्यो यसरी एकै ठाउँमा बस्दै गर्दाखेरि त्यहाँ सरसफाइको समस्याहरू छ। त्यहाँ यो आफ्नो छुट्टै खालका आवश्यकताहरूलाई पूरा गर्ने समस्याहरू छ। त्यसैले त्यो यदि यो-यो ठाउँमा यो-यो कुराहरू चाहिएको छ, काउन्सिलिङको त्यो सेवाहरूदेखि लिएर वस्तुहरू समेतको भण्डार यदि अलग-अलग छुट्ट्याएर बनायो भने त्यसपछि जसले जेमा विशेषज्ञता छ, अहिलेको चरणमा चाहिँ मलाई लाग्छ कि यति धेरै मान्छेले सहयोग गर्न खोज्नुभएको छ, उतापट्टि डिमान्ड छ, अहिले कम्तीमा अहिलेको चरणमा त्यो कुरा चाहिँ सरकारले धेरै कुरामा हात नहाले ता पनि यो स्थानीय सरकारले नेतृत्व गर्ने, यति गर्ने हो भने पूरा गर्न सकिने अवस्था देख्छु म।
अलि पछि अर्को स्कुलमा भएका क्याम्पमा त्यहाँ गएर कुरा गर्ने गर्दाखेरि 'तपाईंहरूलाई अहिले केमा मद्दत चाहिएको छ' भन्दाखेरि 'हामीकहाँ थुप्रै दीर्घरोगीहरू हुनुहुन्छ र उहाँले खाने औषधिहरूको एउटा लामो लिस्ट छ। हामीलाई त औषधि ल्याइदिएर भएन, यही औषधि चाहियो, किन्नुपर्यो, काठमाडौँबाट किनेर पठाइदिनुपर्यो' भनेपछि मसँग जानुभएको डा. लोचन कार्कीले तुरुन्तै सबै औषधिको जिम्मा लिनुभयो र मैले हिजो चेक गर्दाखेरि त औषधिहरू त्यहाँ पुगिसक्यो।
त्यहीँ एकजना क्यान्सर बिरामीको उपचारको लागि टिचिङ हस्पिटल ल्याउनुपर्ने रहेछ, त्यसको पनि उहाँहरूले व्यवस्थापन गर्दिनुभयो। त्यहाँ यतापट्टि कोलोनीमा आउँदै गर्दाखेरि थुप्रै केटाकेटीहरू अब अहिले घरबार सबै खत्तम भएको छ, तर लामो समयसम्म यतिकै बस्दै गयो भने मेन्टल हेल्थको इस्यु हुन्छ।
त्यसैले काउन्सिलिङ पनि चाहियो, बच्चाबच्चीहरूलाई कम्तीमा सामान्य लेखपढ गर्ने ठाउँ पनि बनाउनुपर्यो भनेछेपछि हाम्रो प्रदेशको सांसद रमेश महतले एउटा 'आधार' भन्ने संस्थासँग कन्ट्याक्ट गर्नुभयो। उहाँले तुरुन्तै एउटा बिल्डिङ चाहियो, बिल्डिङ पनि भयो, त्यहाँ आएपछि हामी स्कुल बनाउँछौँ भनेर भन्नुभयो।
मैले के देखेँ भने, तल जुन कुरा थुप्रै ठाउँमा त अहिले मैले पछि सुनिरहेको छु म रसुवा पनि जान्छु, त्यहाँ गएपछि थप कुरा बुझ्छु। कतिपय ठाउँमा राहत आधारभूत कुरा नै पुगेको छैन। तर जहाँ पुगेको छ भनेर भनिएको छ, त्यहाँ पनि चाहिने कुरा एउटा छ, गइरहेको कुरा एउटा छ। त्यसैले यसलाई पनि स्थानीय सरकारले नेतृत्व लिएर ठ्याक्कै 'हामीलाई यो-यो कुराहरूको ग्याप छ है, आवश्यकता छ है' भनेर यसलाई एउटा यत्रो अहिले त सजिलो छ, टेक्नोलोजीले गर्दाखेरि पोर्टल बनाएर हामीले 'यहाँ यो-यो चाहिएको छ' भनेर नुवाकोटको जिल्लाको फलाना फलाना सेल्टरमा यतिजना मान्छेलाई यो-यो चाहिएको छ भन्दाखेरि अनि दिन चाहने मान्छेले पनि ठ्याक्कै चाहिएको कुरा दिने कुरा बनायो भने अहिलेको यो चरणमा चाहिँ त्यसको मिसयुज पनि हुँदैन, डुप्लिकेसन पनि हुँदैन। यो चाहिँ एकदमै धेरै गर्न आवश्यक भएको मैले अर्को पाएँ।
छैटौँ नम्बरको कुरा— एकदमै धेरै जो अहिले बाढीबाट बाँच्नुभएको छ, आफ्नो परिवारको सदस्यहरू गुमाउनुभएको छ, कोही आफ्नो परिवारको सदस्य खोजिराख्नुभएको छ, त्यो पीडा त त्यसको कुनै तुलना नै हुँदैन। तर अन्य अवस्थामा रहनेहरूको पनि मैले के पाएँ भने उहाँहरू एकदम आत्तिनुभएको छ।
जस्तो त्यहाँ मैले नुवाकोटमा देखेँ, किस्पाङ भन्ने गाउँबाट पहिला पहिरोको कारणले गर्दा माइग्रेट भएर त्रिशूलीमा आउनुभएको रहेछ। परिवारको सदस्यहरू मध्यपूर्वमा काम गर्न जानुभएको छ। त्यहाँबाट कमाएको पैसा, गाउँ छोडेर आएको सबै पैसा लगाएर सानो-सानो घरघडेरी किन्नुभयो, सानो व्यवसाय गर्नुभयो, अहिले सबै कुरा गयो। उहाँहरू के भन्दै हुनुहुन्छ मलाई म जाँदै गर्दाखेरि रुँदै-रुँदै— 'हामी त सुकुम्बासी भयौँ, हामीसँग केही पनि छैन अब। भोलि यहाँ अहिले भोलि पुल बन्ला, सडक बन्ला, तर भूकम्पको बेला जस्तो होइन, जमिन नै छैन अब।'
उहाँहरूको चिन्ता चाहिँ अब 'हामी न अगाडि सहरमा जान सक्छौँ, न गाउँ फर्कन सक्छौँ। हामीलाई भोलि पुनर्स्थापना, पुनर्निर्माण हुँदै गर्दाखेरि बस्ने जमिन हामीले पाउँला कि नपाउँला?' एकदम त्यो डरमा।
मैले त्यहीँ कोलोनीमा एकजना दाइ भेटेँ। उहाँले मलाई 'भाइ, तपाईँले मलाई अहिले चामल लिएको देख्नुभयो, त्यो बाढी आउनु भन्दा पहिला म राम्रो सम्पन्न मान्छे हो, मेरो सानो सुनको व्यवसाय थियो। मसँग केही पनि छैन अब।' त्यसैले यो लाइभ्लीहुडको कुरा खोसिएको हुनाले गर्दा मान्छेहरू जो आत्तिनुभएको छ, हामीहरूले, स्टेटले हामी सबै मिलेर उहाँहरूलाई आश्वस्त पार्नुपर्ने छ— हामीहरू छौँ।
यो प्रक्रिया टुङ्गिदै गर्दाखेरि चाहिँ हामीहरूले तपाईंहरूको सबैलाई सम्हाल्छौँ, व्यवस्थापन गर्छौं, तपाईँहरूको यो कुरालाई पनि सम्बोधन गर्छौं, तपाईँहरूको व्यवसायलाई पुनर्स्थापना गर्छौँ, तपाईँहरूको घरबार तपाईँहरूको व्यवस्थापन गर्छौँ भन्ने कुराको काम भोलि गर्नैपर्छ, अहिले भरोसा पनि दिलाउनुपर्ने छ। यो पनि अर्को खाँचो भएको मैले महसुस गरेँ।
र अन्तिममा, जतिखेर हामीहरू फर्कदै थियौँ, फर्कने बेलामा धादिङको सजिलो बाटो भएर फर्कौं भन्ने कुरा भयो। तर पछि हामीसँग हुनुभएको पूर्व सांसद जगदीश्वरनरसिंह केसीले 'एउटा अनाथ भएको बालकलाई लिएर जानुपर्ने छ' भनेपछि हामीहरू फेरि पहिरो पन्छाउँदै त्यहीँ गल्छीकै बाटो फर्कियौं।
बीचमा एकजना बालकलाई उहाँहरूको गाडीमा राखेको मैले देखेको थिएँ। जब हामी गल्छी पुग्यौं, अब हामी आफ्नो घर जानलाई छुट्टिनको लागि भनेर, त्यो बालक त्यहाँ देखेँ मैले। र मलाई एकछिन कुरा गरौं भन्ने लाग्यो। मैले उसलाई बोकेँ। एकछिन कुरा गरेपछि मसँग ऊ झ्याम्मियो। तर ऊ जम्मा एउटा कुरा मात्र मलाई सोधिरहेको थियो, यो तोते बोलीमा— 'बाटो कहिले बन्छ? बाटो कहिले बन्छ?' भनेर।
एकछिन त मैले कुरा बुझिनँ। अनि मैले छेउमा भएको केशव भाइलाई सोधेँ— 'के भनेको?' भनेर। उहाँले मलाई भन्नुभयो— 'बाटोमा उसले हामीलाई सोधिरहेको थियो— मेरो ममी खोइ, ममी खोइ, बाबा खोइ भनेर। हामीले यो बाटो बिग्रेको हुनाले गर्दा ममी-बाबा नभएको, बाटो बनेपछि आउनुहुन्छ भनेर भनेका छौँ।'
सो बुवा पनि बाढीमा बित्नुभयो, आमा पनि बित्नुभयो, हजुरआमा पनि बित्नुभयो। उसले मलाई 'बाटो कहिले बन्छ? बाटो कहिले आउँछ? बाटो-बाटो...' भनेर भनिरहँदै गर्दाखेरि मैले थप उसँग कुरै गर्न सकिनँ, मैले केही भन्नै सकिनँ।
पछि काठमाडौँ आएपछि ऊ सानो बाबुलाई हामीले जिम्मा लगायौँ।रातभरी थुप्रै कुराहरू आए मनमा, तर त्यो सानो त्यो बालकको अनुहार, ऊसँग भएको कन्भर्सेसन आइनै राख्ने भयो। भोलिपल्ट मैले साथीहरूसँग कुराकानी गरेँ- बालक कहाँ छन्? हामीसँगै भएको एकजना साथीले 'सबै कुराको जिम्मा लिन्छु' भनेर भन्नुभएको थियो।
पछि 'सानो पाइला' भन्ने संस्थासँग कुराकानी गर्दाखेरि यति धेरै केटाकेटीहरूले वियोग, अभिभावक गुमाउनुभएको रहेछ। थुप्रै जिम्मेवारी हामीले लिनु नै पर्ने छ। त्यसैले यो स्टेटको कुरा मात्र होइन यो। एज अ सोसाइटी, एज अ कम्युनिटी, तपाईं-हामी सबैले काम गर्नुपर्ने छ।
हामी जो अहिले प्रभावित भएका छैनौँ, हामी सबैको भूमिका छ। म त्यो बाबुलाई हेरेर यसो सम्झिरहेको छु, उसले पछि ठूलो भइसकेपछि थाहा पाइहाल्छ— यो बाढीले, विपत्तिले लिएर गयो, मेरो सबै कुरा लिएर गयो। त्यो भनिरहँदै गर्दा उसले तर त्यही विपत्तिले सबै कुरा लिएर जाँदै गर्दा पनि यहीँको सोसाइटीले, यहीँको कम्युनिटीले फेरि मलाई ढाडस दियो, कोही मेरो बाबा बन्यो, कोही मेरो आमा बन्यो, कसैले मलाई सम्हाल्यो भनेर भन्ने कुरा पनि हामीले फिल गराउनुपर्छ।
त्यसैले मेरो सबैसँग अनुरोध छ— यो बेलामा ठूला-ठूला कुराहरू छन्, सरकारलाई भन्नुपर्ने कुरा छ, सरकारले गर्नुपर्ने कुरा छ, सरकारले बाहेक अरू कसैले गर्न नसक्ने कुराहरू छन्। ती कुराहरूमा पनि हामीले बोल्ने हो, त्यहाँ पनि प्रश्न गर्ने हो, गल्तीलाई गल्ती भन्ने हो, सहीलाई सही थाप्ने हो, सहयोग पनि गर्ने हो। पहिला आफ्नो तहबाट गर्ने हो। तर सोसाइटीको रूपमा तपाईंले, मैले, हामी प्रत्येकले यो विपत्तिको बेलामा काम गर्नुपर्ने छ। कहिँ न कहिँ जोडिनुपर्ने छ, सहयोगका हातहरू फैलाउनुपर्ने छ।
मेरो अन्तिममा एउटा अनुरोध छ— सहयोग गर्न सक्ने सहयोगमा जुटौँ, सहयोग गर्न सक्दैनौँ भने पनि कम्तीमा कसैले कटुवचन कसैले नबोलौँ। किनकि यो यति ठूलो प्रलय, यति ठुलो विपत्ति हो, यसले यति धेरै घरबार उजाड गरेको छ, यति धेरै परिवार, यति धेरै मानिसहरू यसबाट प्रभावित हुनुभएको छ। तल फिल्डमा गइसकेपछि अझ थाहा हुन्छ, त्यो आँकलन नै गर्न सकिँदैन बाहिरबाट हेर्दै गर्दा के भएको छ त्यहाँ भनेर, नाप्नै सकिँदैन। त्यसैले यो बेलामा तपाईँ-हामी प्रत्येकले मिलेर यो समयमा काम गर्नुपर्ने छ।
पार्टीको तर्फबाट हामीले तल फिल्डमा गएर हामीले जे-जे कुरा देखेका छौं, यो सबै कुराको आधारमा यो जलवायुको विषयदेखि टनेलको विषयदेखि सरकारले गर्नुपर्ने, अरू नेक्स्ट फेजमा हामीले गर्ने लगायतका विषयहरूका सन्दर्भमा डिटेल रिपोर्ट बनाएर त्यही अनुसारले हामी फेरि त्यसलाई सार्वजनिक गर्ने नै छौं।