सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि पन्तले महाविपत्तिका कारण पर्साबाट बेपत्ता भएका नागरिकको तत्काल खोज तथा उद्धार गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पन्तले आफ्नो निर्वाचन क्षेत्रसहित समग्र पर्सा जिल्लाका धेरै जना नागरिक अझै बेपत्ता रहेको र उनीहरूका परिवारजनले सास वा लासको आशामा सरकारको बाटो कुरिरहेको बताए।
उनले विपद्को समयमा सरकारले गरेको काम र प्रयासलाई प्रभावित परिवारहरूले नजिकबाट नियालिरहेको भन्दै सरकारप्रति उनीहरूको भरोसा रहेको बताए।
स्रोत, साधन र विज्ञ जनशक्तिको अभावका कारण अपेक्षित परिणाम र युद्धस्तरको प्रगति देखिन नसकेको भए पनि सरकारले गरेका प्रयासको मूल्यांकन हुने उनको भनाइ थियो।
‘स्रोत, साधन र एक्स्पर्टिज जनशक्तिको अभावमा सोचे जस्तो परिणाम र युद्धस्तरको प्रगति भने पक्कै पनि देखिएका छैनन्,’ पन्तले भने, ‘तर सरकारले गरेका यी काम र राम्रा प्रयासहरूको पक्कै पनि लेखाजोखा हुने नै छ र एक दिन इतिहासले पनि यसको मूल्यांकन गर्ने छ।’
पन्तले खोजी तथा उद्धार कार्यमा आवश्यक परे मित्रराष्ट्रहरूसँग सहयोग, समन्वय र सहकार्य गर्न पनि सरकारलाई आग्रह गरे।
‘त्यसकारण म सरकारलाई आफ्नो सम्पूर्ण शक्ति लगाएर अनि मित्रराष्ट्रहरूसँग पनि आवश्यक सहयोग, समन्वय एवं सहकार्य गरेर आम जनताले चाहे जस्तो परिणाममुखी उद्धार कार्य गरेर जनताको विश्वास जित्न अनुरोध गर्दछु,’ उनले भने।
सांसद पन्तले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा पर्साका इन्जिनियर दिलीप यादवसहित विभिन्न स्थानमा बेपत्ता भएका पर्सा जिल्लाका नागरिकको तत्काल उद्धारका लागि सरकारको ध्यानाकर्षण गराए।
उनले पछिल्लो लोकेसनका रूपमा घट्टेखोला क्षेत्रमा देखिएका पर्साकै सुनिलमान डङ्गोलसहित पर्सा–१ का अच्युतम श्रेष्ठ, कमरुल होद्दा अन्सारी, समिम आलम, नवीनकुमार सिंह, नग नारायण पटेल, अजयकुमार यादव, सञ्जय तामाङ, रमन श्रुप, अजिर अन्सारी, सहाबुद्दिन मन्सुरी, सर्फराज मियाँ, कविता हल्दिया, विकासकुमार वर्णवाल र अरवाज हवारीलगायत सबैको शीघ्र उद्धार गर्न माग गरे।
‘सभामुखज्यूमार्फत सरकारको पुनः गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने।
महाविपत्तिका कारण आफ्ना जिल्लाका नागरिक बेपत्ता भएपछि उनीहरूका परिवारजन लामो समयदेखि आफन्तको अवस्था पत्ता लाग्ने आशामा रहेको भन्दै पन्तले सरकारको खोज तथा उद्धार अभियानलाई अझ तीव्र र परिणाममुखी बनाउन आग्रह गरे।