मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको छ।
बैठकले भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहतका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको सरकार प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
त्यस्तै, रसुवाको भोटेकोशी बाढीबाट प्रभावित व्यक्ति, उद्योग तथा व्यवसायलाई राहत, कर तथा महसुल छुट र अन्य सहुलियत उपलब्ध गराउने निर्णय गरिएको छ।
सरकारले साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत २५ हजार मेट्रिक टन चिनी १ प्रतिशत भन्सार महसुलमा आयात गर्न अनुमति दिएको छ।
बाढीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च, घाइते भए निःशुल्क उपचार तथा मृत्यु भए परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय पनि भएको छ।
यसैगरी, भदौ २३ गते जेनजी सहिद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ।
भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने र त्यस दिन सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास तथा नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको छ।
बैठकले नारायणप्रसाद भट्टलाई सचिवमा बढुवा गरी कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ।