पूर्वसचिव डा. रामप्रसाद घिमिरे नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को कार्यकारी निर्देशक नियुक्त भएका छन्।
गत फागुनमा निजामती सेवाबाट अनिवार्य अवकाशमा गएका घिमिरेलाई सरकारले स्टाफ कलेजको नेतृत्व दिने निर्णय गरेको हो।
घिमिरेले सचिवका रूपमा लामो समय अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गरेका थिए। उनले अर्थ मन्त्रालयमा अर्थ सचिव र राजस्व सचिवको जिम्मेवारी सम्हालेका थिए।
त्यसबाहेक उनले अख्तियार दुरूपयोग अनुसन्धान आयोग र राष्ट्रपति कार्यालयमा पनि सचिवका रूपमा काम गरेका थिए।
स्टाफ कलेजको कार्यकारी निर्देशक पद तत्कालीन निर्देशक रामशरण पुडासैनी पदमुक्त भएपछि रिक्त थियो। उक्त पदमा नियुक्तिका लागि पूर्वसचिवहरू घिमिरे, डिल्लीराम शर्मा, गोकर्णमणि दुवाडी र बाबुराम अधिकारी प्रतिस्पर्धामा थिए।
छनोट प्रक्रियाबाट घिमिरे, शर्मा र अधिकारी नियुक्तिका लागि सिफारिस भएका थिए। सिफारिसमा परेका तीन जनामध्ये घिमिरे कार्यकारी निर्देशक नियुक्त भएका हुन्।
यसपटक स्टाफ कलेजको कार्यकारी निर्देशक छनोटमा विगतको अभ्यासभन्दा फरक प्रक्रिया अपनाइएको थियो। यसअघि मन्त्रिपरिषदबाट सिधै नियुक्ति गर्ने अभ्यास थियो। यसपटक भने खुला प्रतिस्पर्धाबाट उम्मेदवार छनोट गरिएको हो।
स्टाफ कलेजले सरकारी कर्मचारीको क्षमता अभिवृद्धि, प्रशासनिक प्रशिक्षण तथा सार्वजनिक प्रशासनसम्बन्धी अध्ययन र अनुसन्धान गर्दै आएको छ।
कलेजले निजामती कर्मचारीलाई विभिन्न तहमा आवश्यक पर्ने तालिम दिनुका साथै सार्वजनिक प्रशासन सुधारका विषयमा अध्ययन र अनुसन्धान गर्छ।