मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन्।
प्रदेश सभामा विश्वासको मत लिन बोलाइएको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिने घोषणा गरेका हुन्।
बहुमत जुटाउन नसक्ने अवस्था देखिएपछि उनले पदभन्दा जनताको सेवा र विश्वास ठूलो रहेको भन्दै राजीनामा दिने बताएका हुन्।
सत्ता साझेदार नेकपा एमालेले असोज ३० गते समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो।
त्यसपछि कात्तिक २० गते नेपाली कम्युनिस्ट पार्टीसमेत सरकारबाट बाहिरिएपछि यादव नेतृत्वको सरकार संकटमा परेको थियो।
१०२ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ५२ सांसदको समर्थन आवश्यक थियो।
अब प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् ।