नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारलाई आगामी नयाँ वर्षसम्म पनि टिक्न दिन नहुने बताएका छन्।
शनिबार नेकपा एमाले वागमती प्रदेश कमिटीको बैठकमा बोल्दै उनले सरकारविरुद्ध राजनीतिक आन्दोलनलाई व्यवस्थित रूपमा अघि बढाउनुपर्ने बताए।
त्यसका लागि एमालेले आवश्यकताअनुसार अन्य राजनीतिक दलसँग सहकार्य गर्ने उनको भनाइ छ।
बस्नेतले वर्तमान सरकार र सत्तारुढ दलको नेतृत्व सहकारी ठगीलगायत आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लगाए।
‘भ्रममा बाँचेको, देशलाई जलाएर आएको, युवाहरूले खरानी ग्याङ भनेर उपमा दिएको, सहकारी ठगीलगायत आपराधिक कर्ममा संलग्न पार्टी र त्यसका नेताहरूको नेतृत्वमा रहेको वर्तमान सरकारको आयु धेरै लामो रहने छैन,’ उनले भने, ‘यो सरकारलाई आउँदो नयाँ वर्ष देखाउन दिनु हुँदैन।’
उनले सरकारका गतिविधि आम नागरिकमाझ पुर्याउन प्रविधिको प्रयोग गर्न पनि पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए।
सरकारविरुद्धको आन्दोलन प्रभावकारी बनाउन एमालेको संगठनात्मक संरचना बलियो बनाउनुपर्ने उनको भनाइ छ।
बस्नेतले स्थानीय कमिटीहरूलाई मजबुत बनाउँदै आगामी स्थानीय तह र प्रदेश तहको निर्वाचनको तयारीमा जुट्न पनि कार्यकर्तालाई आग्रह गरे।
आगामी निर्वाचनमा एमालेलाई पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने गरी अघि बढ्नुपर्ने उनले बताए।-न्युज एजेन्सी नेपाल