भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई बंगलादेश फर्काउन त्यहाँको सरकारसँग दुईवटा सर्त राखेको छ।
भारतले हसिनालाई लिन बंगलादेशले सैनिक विमान पठाउनुपर्ने र मृत्युदण्डको सजायविरुद्ध पुनरावेदन गर्ने अवसर दिनुपर्ने सर्त राखेको टाइम्स अफ इन्डियाले जनाएको छ।
सन् २०२४ अगस्ट ५ मा बंगलादेशमा भएको जनआन्दोलनपछि सत्ता छाडेर भारत पुगेकी हसिनालाई त्यहाँको अदालतले प्रदर्शनकारीमाथि भएको दमनसँग सम्बन्धित मुद्दामा मृत्युदण्डको सजाय सुनाएको छ।
हसिनालाई बंगलादेशी सेनाले नै स्वदेश फर्काउने जिम्मेवारी लिनुपर्ने भारतको पहिलो सर्त छ।
त्यसका लागि भारतले दिल्लीबाट हसिनालाई लिन बंगलादेशले सैनिक विमान पठाउनुपर्ने प्रस्ताव गरेको छ।
वैकल्पिक रूपमा बंगलादेशी सेनाले भारत–बंगलादेश सीमाको कुनै निश्चित स्थानमा पुगेर उनलाई बुझ्न सक्ने विकल्प पनि भारतले अघि सारेको छ।
हसिना सन् २०२४ अगस्ट ५ मा बंगलादेशी सेनाको विमान चढेर भारत पुगेकी थिइन्। भारतले उनको स्वदेश फिर्ती पनि सेनाकै जिम्मेवारीमा हुनुपर्ने चाहेको हो।
दोस्रो सर्त भने हसिनाविरुद्धको कानुनी प्रक्रियासँग सम्बन्धित छ।
भारतले मृत्युदण्डको सजायविरुद्ध पुनरावेदन गर्ने अवसर दिन र सन् २०२४ जुलाईमा भएको आन्दोलनका क्रममा प्रदर्शनकारीको हत्यासम्बन्धी मुद्दामा पुनः निष्पक्ष सुनुवाइको सुनिश्चितता गर्न बंगलादेशसँग माग गरेको छ।
भारतले हसिनालाई मृत्युदण्ड दिइने अवस्थामा स्वदेश पठाउन नसकिने र नयाँ सुनुवाइ निष्पक्ष हुनुपर्ने तथा त्यसमा अन्तर्राष्ट्रिय समुदाय तथा सञ्चारमाध्यमको निगरानी रहनुपर्ने चाहना राखेको भारतीय सरकारी अधिकारीहरूलाई उद्धृत गरेर बिबिसी बंगलाले लेखेको छ।
भारतलाई हसिनाको उपस्थिति किन असहज?
हसिनाको भारत बसाइ पछिल्लो समय दुई देशबीचको सम्बन्धमा असहजताको विषय बन्दै गएको छ।
बंगलादेशको अदालतबाट मृत्युदण्डको सजाय पाएकी पूर्वप्रधानमन्त्रीलाई भारतले आश्रय दिइरहेको भन्दै अन्तर्राष्ट्रिय स्तरमा पनि भारतको आलोचना हुँदै आएको छ।
भारतले हसिनालाई कुनै तेस्रो मुलुक पठाउने विकल्प खोजे पनि त्यसका लागि विभिन्न देशसँग भएका प्रयास सफल हुन नसकेको बिबिसी बंगलाको समाचारमा उल्लेख छ।
हसिनाले भने आफू बंगलादेश फर्किन चाहेको बताउँदै आएकी छन्।
उनले यसअघि रोयटर्ससँगको अन्तर्वार्तामा सन् २०२६ को डिसेम्बरमा स्वदेश फर्किने र अदालतमा आत्मसमर्पण गर्ने योजना सुनाएकी थिइन्।
त्यसका लागि उनले दिल्लीस्थित बंगलादेशी दूतावासमार्फत नयाँ राहदानी र राष्ट्रिय परिचयपत्रसमेत माग गरेकी छन्। तर बंगलादेश सरकारले उनको माग अस्वीकार गरेको रोयटर्सले जनाएको छ।
हसिनाले स्वदेश फर्कँदा आफू पक्राउ पर्न सक्ने, जेल जानुपर्ने वा ज्यानै जोखिममा पर्न सक्ने सम्भावना रहेको पनि स्वीकार गरेकी छन्।
तर यस्ता जोखिमले आफ्नो निर्णय नबदल्ने उनको भनाइ छ।
यसैबीच, भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले शुक्रबार हसिनाको प्रत्यर्पणबारे सोधिएको प्रश्नमा यो कानुनी विषय भएकाले कानुनअनुसार नै अघि बढ्ने बताएका छन्।