नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक (आईजीपी)ले थुन्ने धम्की दिएको भन्दै आपत्ति जनाएका छन्।
एमालेको राष्ट्रिय भेलाको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जो आए पनि थुनिदिन्छु भन्ने गरेको भन्दै त्यसबारे आपत्ति जनाएका हुन्।
‘आइजिपी हुनेबित्तिकै होसमा हो कि बेहोसमा बोलेको सुन्छु म। आइजिपीको बोलाइ त्यस्तो हुन्छ? म केपी ओलीलाई थुन्दिन्छु, म शेरबहादुरलाई थुन्दिन्छु, म प्रचण्डलाई थुन्दिन्छु। केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा भनेका मजाकका पात्र हुन्? थुन्दिन्छु रे!’ उनले भने।
ओलीले आफूहरू राणाशासन, पञ्चायती शासन र निरंकुश राजतन्त्रविरुद्ध लडेर आएको भन्दै प्रहरी अधिकारीले आफूहरूलाई धम्की दिन नसक्ने बताए।
‘हामी राणाशासनका विरुद्ध लडेर आएका हौँ, पञ्चायती शासनका विरुद्ध लडेर आएका हौँ, निरंकुश राजतन्त्रका विरुद्ध लडेर आएका हौँ। अनि ६ महिनेको जागिर खाने एउटा सिपाहीले भन्छ फलानालाई थुन्दिन्छु, म फलानालाई थुन्दिन्छु। ठट्टा मजाक गर्या हो? तिनी जन्मिनुभन्दा अगाडिदेखि हामी देशका लागि आन्दोलनमा ज्यानको बाजी थापेर हिँडिराखेका छौँ। मजाक गर्ने हामीमाथि?’ उनले भने।
उनले प्रमाण भेटिए सत्ताधारी पार्टीकै मान्छेहरू पनि थुनिन सक्ने बताए।
‘प्रमाण भेटे त उनी पनि थुनिन्छन् होला नि, गलत काम गर्या प्रमाण भेटे। अरू पनि त थुनिन्छन् होला नि। गृहमन्त्रीको देखिन्छ, फाइल खोल्दै छु, पर्खिनुस् सब थुनिन्छन्, १०१ थुनिन्छन्। कसलाई भन्या हो? अब सबै थुनिन्छन् भने उनी र को बाँच्छन् त नेपालमा? को बाँकी रहन्छ?’ उनले भने।
ओलीले यस्ता अभिव्यक्तिले समाजमा मनोवैज्ञानिक आतंक फैलाउने प्रयास भएको भन्दै एमाले यस्ता कुराबाट नहल्लिने बताए।
‘यस्तो गैरजिम्मेवार ढंगका अभिव्यक्ति दिएर आतंकको राज, मनोवैज्ञानिक आतंक अन्त फैलाऊ। नेकपा एमाले यस्ता हावादारी कुराहरूबाट, यस्ताहरूबाट हल्लिनेवाला पनि छैन, वास्ता गर्नेवाला पनि छैन,’ ओलीले भने।