खाडी क्षेत्रका दुई देश कुवेत र बहराइनमा हवाई हमलाको चेतावनी जारी गरिएको छ।
दुवै देशमा हवाई रक्षा प्रणाली सक्रिय पारिएको र विस्फोटका आवाज सुनिएको बिबिसीले जनाएको छ।
बिबिसीका अनुसार बहराइनमा फेरि साइरन बजाइएको छ र हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरिएको छ। यसैबीच इरानी सञ्चार माध्यमहरूले पनि देशका विभिन्न स्थानमा विस्फोटका आवाज सुनिएको खबर दिएका छन्।
केही घण्टाअघि इरानको रिभोलुसनरी गार्ड्सले बहराइनमा रहेको अमेरिकी रडार प्रणालीलाई निशाना बनाएर ध्वस्त पारेको दाबी गरेको थियो। तर अमेरिकी सेनाले उक्त दाबीको पुष्टि गरेको छैन।
अमेरिकी सञ्चारमाध्यम एनपीआरका अनुसार मंगलबार (नोभेम्बर १७) इरानले बहराइनस्थित अमेरिकी रडार केन्द्रमा ड्रोन आक्रमण गरेको थियो। पछिल्ला दिनमा बहराइनस्थित अमेरिकी सैन्य अखडामाथि इरानले गरेको यो तेस्रो आक्रमण भएको एनपीआरले जनाएको छ।
यस्तै, कुवेतको सेनाले पनि आफ्नो हवाई रक्षा प्रणाली ड्रोन आक्रमण रोक्न सक्रिय रहेको जनाएको छ।
कुवेतको सेनाले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘कुवेतको हवाई रक्षा प्रणाली अहिले शत्रुतापूर्ण ड्रोन आक्रमणको सामना गरिरहेको छ।’
कुवेती सेनाको जनरल स्टाफका अनुसार सुनिएका विस्फोटका आवाज हवाई रक्षा प्रणालीले ड्रोन आक्रमण रोक्ने क्रममा भएका हुन्।
बिबिसी फारसीका अनुसार इरानी सञ्चारमाध्यमहरूले अरब स्रोतलाई उद्धृत गर्दै कुवेतमा पनि कैयौँ विस्फोट भएको खबर दिएका छन्।
यसअघि इरानले बहराइनमा रहेका अमेरिकी रडार केन्द्रमाथि आक्रमण गरेको घोषणा गरेको थियो। इरानले त्यसलाई खाडी क्षेत्रका केशम र सिरिकलगायत तटीय क्षेत्रमा अमेरिकाले गरेको हवाई आक्रमणको जवाफ भनेको थियो।
इरानले आफ्नो देशमाथि आक्रमण भए खाडी क्षेत्र र त्यसबाहिर रहेका अमेरिकी सैन्य अखडालाई पनि निशाना बनाउने चेतावनी दिँदै आएको छ।