नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको नेतृत्वदेखि कार्यकर्तासम्मको कार्यशैली बदल्नुपर्ने प्रस्ताव गरेकी छन्।
उनले पार्टीका कमिटीहरूलाई पदाधिकारी र सदस्यको प्रतिष्ठा बढाउने थलो नभई जिम्मेवारी पूरा गर्ने संरचनाका रूपमा विकास गर्नुपर्ने बताएकी छन्।
बुधबारदेखि काठमाडौंमा जारी एमालेको राष्ट्रिय कार्यकर्ता भेलामा बिहीबार प्रतिवेदन प्रस्तुत गर्दै भण्डारीले पार्टीभित्र आलोचना र आत्मालोचनाको संस्कार विकास गर्नुपर्ने, नेता–कार्यकर्ताबीचको सम्बन्ध सुधार्नुपर्ने र संगठनलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिएकी हुन्।
‘अहिले आवश्यकताका आधारमा भन्दा पनि मागका आधारमा कमिटी ठूला र भद्दा बनाउने तथा कमिटीमा राख्ने प्रवृत्ति बढ्दो छ। वास्तवमा पार्टीका विभिन्न तहका कमिटीहरू मानार्थ होइनन्, कार्यार्थ हुन्,’ उनले प्रतिवेदनमा भनेकी छन्।
उनले बैठक बस्ने, निर्णय गर्ने र प्रतिवेदन तयार पार्ने औपचारिकतामा मात्रै पार्टी संगठन सीमित हुन नहुने बताएकी छन्। केन्द्रीय कमिटीदेखि वडा र टोल तहसम्मका संरचना निर्णय कार्यान्वयन, संगठन विस्तार, कार्यकर्ता परिचालन र जनतासँगको सम्बन्ध विस्तारमा सक्रिय हुनुपर्ने उनको प्रस्ताव छ।
भण्डारीको यो प्रतिवेदन एमालेभित्र नेतृत्वको कार्यशैली, संगठन सञ्चालन र आन्तरिक लोकतन्त्रबारे बहस भइरहेका बेला आएको छ।
उनले पार्टीको कमजोरीलाई चुनावी हारमा मात्र सीमित नगरी संगठन सञ्चालनको पद्धति र नेता–कार्यकर्ताको व्यवहारसँग जोडेर समीक्षा गर्ने प्रयास गरेकी छन्।
‘पार्टीमा कसैको स्वस्थ आलोचना समाप्त पार्नको लागि गरिएको हुँदैन र आत्मालोचना हिनताबोधको पर्याय पनि होइन,’ उनले भनेकी छन्, ‘यस सन्दर्भमा जननेता मदन भण्डारी र जीवराज आश्रितको जीवनबाट हामीले सादगी, निष्ठा, सहिष्णुता, अनुशासन, अध्ययनशीलता र जनतासँगको आत्मीय सम्बन्धको प्रेरणा लिन सक्छौँ।’
उनले पार्टीको वैचारिक प्रतिबद्धता र व्यवहारबीच एकरूपता हुनुपर्नेमा पनि जोड दिएकी छन्। जनताको अधिकार, सुशासन र जवाफदेहिताको कुरा गर्ने तर व्यवहारमा त्यसलाई लागू नगर्ने प्रवृत्तिले राजनीतिक दलको विश्वसनीयता कमजोर बनाउने उनको भनाइ छ।
भण्डारीले २०८२ भदौ २३ र २४ गतेका घटनाक्रम तथा फागुन २१ गते सम्पन्न निर्वाचनमा एमालेले व्यहोरेको पराजयलाई पार्टीका लागि गम्भीर धक्काका रूपमा व्याख्या गरेकी छन्। तर एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने उनको भनाइ छ।
‘एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन। तर हारबाट सही पाठ सिक्नु र कमजोरीहरू सच्याउँदै अघि बढ्नु हाम्रो दायित्व हो,’ उनले भनेकी छन्।
भण्डारीले पराजयको समीक्षा गरेर निकालिएका निष्कर्ष नेतृत्वदेखि कार्यकर्तासम्म सबै तहमा इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्ने बताएकी छन्।
उनको प्रतिवेदनमा नेता तथा कार्यकर्ताबीच जिम्मेवारीको उचित कार्यविभाजन, योगदान र क्षमताको मूल्यांकन तथा पार्टीका सबै तहलाई एउटै उद्देश्यमा अघि बढाउने वातावरण निर्माण गर्नुपर्ने उल्लेख छ।
पार्टीको पुनर्जागरणका लागि नेता तथा कार्यकर्ताको जीवनशैली र जनतासँगको सम्बन्धमा सुधार ल्याउनुपर्ने उनको प्रस्ताव छ। राजनीति व्यक्तिगत सुविधा र प्रतिष्ठा आर्जन गर्ने माध्यम नभई जनताको सेवा गर्ने जिम्मेवारी भएको उनले स्मरण गराएकी छन्।
यसरी भण्डारीले पार्टीको पराजयको जिम्मेवारी कुनै एक व्यक्ति वा नेतृत्वमा मात्र केन्द्रित नगरी संगठनको समग्र कार्यशैली सुधार्नुपर्ने धारणा राखेकी छन्।
भण्डारीले वर्तमान सरकारका गतिविधिमाथि पनि प्रश्न उठाएकी छन्। उनले पछिल्ला राजनीतिक घटनाक्रम र सरकारका कतिपय गतिविधिले संविधान, लोकतान्त्रिक मूल्य र संसदीय प्रणालीको अभ्यासमाथि प्रश्न उठाएको बताएकी छन्।
उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमा प्रतिकूल प्रभाव परेको तथा मुलुकको अन्तर्राष्ट्रिय छविमा समेत आँच आउन थालेको उल्लेख गरेकी छन्।
राजनीतिक दलका नेता तथा सार्वजनिक जीवनमा सक्रिय व्यक्तिहरू र सञ्चारमाध्यमप्रति सरकारले लक्षित गतिविधि गरिरहेको उनको आरोप छ।
‘कानुनी प्रक्रिया पूरा नगरी प्रतिशोधपूर्ण व्यवहार गर्ने, राजनीतिक असहमतिका आधारमा व्यक्तिलाई निशाना बनाएर प्रहरी नियन्त्रणमा लिने वा सञ्चारमाध्यमको स्वतन्त्रता संकुचित गर्ने प्रवृत्ति लोकतान्त्रिक संस्कार अनुकूल हुन सक्दैनन्,’ उनले भनेकी छन्।
कानुन उल्लंघन भएको भए निष्पक्ष छानबिन र न्यायिक प्रक्रियाबाट निरूपण हुनुपर्ने तर कानुनलाई राजनीतिक प्रतिशोधको साधन बनाउन नहुने उनको भनाइ छ।
संविधान संशोधनका विषयमा पनि उनले राष्ट्रिय सहमति आवश्यक रहेको बताएकी छन्। संविधान समय र आवश्यकताअनुसार संशोधन गर्न सकिने भए पनि त्यसका आधारभूत दृष्टिकोण, प्रस्तावना र लोकतान्त्रिक चरित्रमा प्रतिकूल असर पर्ने गरी संशोधन गर्न नहुने उनको धारणा छ।
भण्डारीले आफ्नो प्रतिवेदनमा पार्टी राजनीतिमा पुनः सक्रिय भएको विषयलाई पनि व्याख्या गरेकी छन्। राष्ट्रपति पदको जिम्मेवारी पूरा गरेपछि पार्टीमा फर्किएको उल्लेख गर्दै उनले आफ्नो पुनरागमन व्यक्तिगत पद, सुविधा वा अवसरका लागि नभएको बताएकी छन्।
‘अब म कुनै पनि पदप्रति निष्पृह जस्तै भएको छु। किनकि मैले राष्ट्रपति जस्तो मुलुकको सर्वोच्च ओहोदा हासिल गरिसकेको छु,’ उनले भनेकी छन्।
उनले पार्टीको वैचारिक विकास, संगठनात्मक सुदृढीकरण, सामाजिक–आर्थिक रूपान्तरण र राष्ट्रिय जिम्मेवारीमा योगदान पुर्याउन सक्रिय राजनीतिमा फर्किएको बताएकी छन्।
भण्डारीले जनताको बहुदलीय जनवादलाई वर्तमान चुनौती समाधान गर्ने र भविष्य निर्माण गर्ने जीवन्त मार्गदर्शक सिद्धान्तका रूपमा विकास गर्नुपर्ने प्रस्तावसमेत गरेकी छन्। युवा पुस्तामा बढ्दो निराशा, बेरोजगारी र विदेश पलायन सम्बोधन गर्न जनसंगठनहरूलाई अनुसन्धान, उद्यमशीलता, बहस र रचनात्मक अभियानमा सक्रिय बनाउनुपर्ने उनको भनाइ छ।