नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको धारणा राख्दा विश्वभरका प्रतिनिधिबाट राम्रो प्रतिक्रिया पाएको बताएका छन्।
रुसमा आयोजित ‘फर द फ्रिडम अफ नेसन्स’ सम्मेलनबाट बिहीबार स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सम्मेलनमा नेपालको उपस्थिति र आफ्नो सम्बोधनले देश तथा पार्टीको गरिमा बढेको बताए।
‘मैले जति सोचेर गएको थिएँ, त्यसभन्दा बढी नै भयो। नेपालको गरिमा, हाम्रो पार्टीको र कम्युनिस्ट आन्दोलनको पनि गरिमा उठेको महसुस गरेको छु,’ उनले भने।
प्रचण्डका अनुसार सम्मेलनमा ७६ देशका राजनीतिक दलका नेता, अध्यक्ष, पूर्वमन्त्री तथा पूर्वप्रधानमन्त्रीसहित करिब साढे चार सय प्रतिनिधि सहभागी थिए। तीन दिनसम्म चलेको सम्मेलनमा उनले दुई पटक सम्बोधन गर्ने अवसर पाएका थिए।
पहिलो सम्बोधनमा उनले नेपालको वर्तमान राजनीतिक परिस्थिति र अवस्थाबारे धारणा राखेका थिए। दोस्रो दिन आयोजित ‘फर द फ्रिडम अफ नेसन्स’ को महासभामा उनले विश्व परिस्थिति र नेपालको अन्तर्राष्ट्रिय दृष्टिकोण प्रस्तुत गरेका थिए।
उनले विश्वमा भइरहेका युद्ध, विभिन्न देशबीचको तनाव, ब्रिक्स, बहुध्रुवीय विश्व व्यवस्थातर्फको परिवर्तन, प्यालेस्टाइन र युक्रेनलगायत विषयमा नेपालको र आफ्नो पार्टीको धारणा स्पष्टसँग राखेको बताए।
‘मैले सबै विषयमा हाम्रो पार्टीको र नेपाल देशको जे पोजिसन हो, त्योबारे प्रस्ट कुरा राखेँ। त्यसपछि त्यहाँ राम्रो उत्साहको वातावरण बन्यो,’ उनले भने, ‘कतिपय प्रतिनिधि उठेर अङ्कमाल गर्न र राम्रो भयो भन्नसमेत आए।’
प्रचण्डले सम्मेलनमा आफ्नो परिचय गराउँदा आयोजकले विशेष महत्त्व दिएको पनि बताए। आयोजकले आफूलाई एसियाका विशिष्ट नेताका रूपमा प्रस्तुत गर्दै युद्धको कमान्डर, शान्तिको नेता र गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीका रूपमा परिचय गराएको उनको भनाइ थियो।
‘उद्घोषकहरूले मेरो बारेमा अलि विशिष्ट खालले प्रस्तुत गरिदिनुभयो। त्यसरी नै बुझ्नुभएको रहेछ। साढे चार सय नेतामाझ त्यसले राम्रो आकर्षण पैदा गरेको थियो,’ उनले भने।
सम्मेलनको उद्घाटनका दिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको लिखित मन्तव्य प्रस्तुत गरिएको थियो। चीन भ्रमणका कारण पुटिन स्वयं उपस्थित हुन नसकेको र उनको पार्टी युनाइटेड रसियाका अध्यक्षले मुख्य सम्बोधन गरेको प्रचण्डले जानकारी दिए।
नेपालबाट आफ्नो पार्टीलाई मात्रै सम्मेलनमा निमन्त्रणा गरिएको र आफूहरूलाई आयोजकले विशेष महत्त्व दिएको पनि उनले बताए।
प्रचण्डले सम्मेलनमा प्राप्त महत्त्वलाई आगामी दिनमा नेपाल र आफ्नो पार्टीले कसरी उपयोग गर्छन् भन्ने कुरा महत्त्वपूर्ण रहेको बताए।
उनले यसलाई विश्वभर नेपालको धारणा सम्प्रेषण गर्ने प्रभावकारी मञ्चका रूपमा लिएको उल्लेख गरे।