परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन जोड दिएका छन्।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङ माओमिङले गरेकाे शिष्टाचार गरेका थिए। त्यस अवसरमा परराष्ट्रमन्त्री खनालले तातोपानी नाका तत्काल खुलाउन राजदूत चाङसँग छलफल गरेका हुन्।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले केही समयअघि रसुवा-भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण रसुवागढी नाका बन्द रहेको र हिउँदको मौसममा चीनसँग जोडिएका अन्य उच्च हिमाली नाकाहरू पनि पूर्ण रूपमा सञ्चालन हुन नसक्ने अवस्था रहेको उल्लेख गर्दै यस्तो परिस्थितिमा काठमाडौंसँग सबैभन्दा नजिक रहेको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउनु आवश्यक रहेको उनले बताए।
‘तातोपानी नाका काठमाडौंसँग सबैभन्दा कम दूरीमा रहेको र यो नाका हाम्रा दुई मुलुकबीचको ऐतिहासिक मित्रतापूर्ण सम्बन्धको प्रतीक समेत हो।त्यसैले दुई मुलुकबीचको सम्पर्क सञ्जाल र आवागमनलाई सहज बनाउन यो नाका तत्काल खुलाउन आवश्यक छ,’ परराष्ट्रमन्त्री खनालले भने।
शिष्टाचार भेटमा चिनियाँ राजदूत चाङले तातोपानी नाका सञ्चालनका विषयमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी काम गर्ने जानकारी दिएका थिए।
भेटवार्ताका क्रममा दुई पक्षबीच बाढीपछिको पुनर्निर्माण, नेपाल-चीन सम्बन्ध तथा बहुपक्षीयतासहित आपसी हित र चासोका विविध विषयमा पनि छलफल भएको थियो।