राप्रपामा पुस्तान्तरण र रूपान्तरण एजेन्डा अघि सार्दै संसदीय दल नेता ज्ञानेन्द्र शाहीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले मंसिर २६ देखि २८ गतेसम्म हुने आठौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
उनले अहिलेका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष कमल थापा, पशुपतिशम्शेर राणा, प्रकाशचन्द्र लोहनीलाई सर्वोच्च नेता बन्न प्रस्ताव पनि गरेका छन्।
‘विचारलाई नयाँ पुस्तासँग पुस्तान्तरण गर्दै, विचारलाई आत्मसाथ गर्दै, नेपालको जुनसुकै ठाउँबाट जागेर आउनुस्, रोक्न खोज्छन् उनीहरूलाई भन्नुस्, यो पार्टी जबसम्म पुस्तान्तरण हुँदैन तबसम्म भविष्य छैन। त्यही भएर राप्रपा अध्यक्षमा म उम्मेदवारी घोषणा गर्छु,’ उनले भने, ‘राजेन्द्र लिङ्देनसहित पार्टीका अन्य शीर्ष नेताहरूलाई सर्वोच्च नेता बनिदिन हामी युवाहरूको प्रस्ताव छ। तपाईंहरूको अनुभव र मार्गदर्शनअनुसार अध्यक्षभन्दा पनि माथि सर्वोच्च नेताका रूपमा राख्न चाहन्छौं।’
रूपान्तरण र पुस्तान्तरण हुन नसके चुनावमा झन् पार्टी कमजोर हुने उनले बताए।
‘रूपान्तरण र पुस्तान्तरण नगरे अध्यक्ष त कोही होला तर जनताले पत्याउँदैनन्,’ उनले भने, ‘जनताले नपत्याएको पार्टीको कुनै अर्थ रहन्न। देशमा ३५ वर्षका मानिस प्रधानमन्त्री हुनुहुन्छ। देशले अहिले पार्टी परिवर्तन गरेको होइन, पुस्ता परिवर्तन गरेको हो। अहिले हामीले रूपान्तरण र पुस्तान्तरण गर्न सकेनौं भने चुनावका बेला कांग्रेस र एमाले नेताका घरमा गएर एक दुई सिट मिलाउनुपर्ने अवस्था आउन सक्छ, त्यसैले पार्टीलाई बलियोसँग हिँडाउन पनि युवाको नेतृत्व आवश्यक छ।’
उनले शीर्ष नेताहरूलाई सम्मान गर्न पनि नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका थिए।
‘उहाँहरूले विचार राखिदिएका कारण आज हामी यो पार्टीमा छौं। उहाँहरूलाई सम्मान छ। सुझाव चाहिएको छ। राप्रपा ३ पुस्ताको पार्टी छ,’ उनले भने, ‘सबैको आफ्ना अनुभव छन्। हाम्रा शीर्ष नेता विज्ञहरू पनि हुनुहुन्छ। सबैको साथ र हात चाहिएको छ। युवाको जोश र जाँगर तथा शीर्ष नेताहरूको अनुभव समिश्रण गर्न सकेनौं भने पार्टी बन्न त सक्ला तर जनताले पत्याउँदैनन्। पार्टीमा रूपान्तरण र पुस्तान्तरण आवश्यक छ, एक पटक सबै जना यसमा उभिनुहोला।’