प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ।
शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले भ्रमण स्वीकृत गरेको हो।
‘२०८३ मंसिर ६ र ७ गते प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ,’ मन्त्रिपरिषदका निर्णय सुनाउँदै सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले भने, ‘उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय पनि भएको छ।’
प्रधानमन्त्री शाह ३४ सदस्यीय सरकारी टोलीको नेतृत्व गर्दै मंसिर ६ गते भारतको राजकीय भ्रमणमा जानेछन्।
प्रधानमन्त्री शाह आइतबार मध्याह्न १ बजेर ४५ मिनेटमा नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्ली प्रस्थान गर्ने भएका हुन्।
भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह लगायतका उच्च पदस्थ अधिकारी रहेनछन्।
प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मंसिर ७ गते प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नेछन्।
दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा उर्जासम्बन्धी परियोजना उद्घाटन गर्ने कार्यक्रम छ। व्यापार, पारवाहन, लगानी, सम्पर्क सञ्चाल र पूर्वाधार लगायतका विषयमा आर्थीक सहकार्यका विषयमा छलफल हुनेछ।
यस्तो छ मन्त्रिपरिषद बैठकका निर्णय-
१.२०८३ मङ्सिर ६ र ७ गते प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने र उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने।
२.चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवनरक्षा तथा तत्कालीन आपत्कालीन उद्धार र राहत कार्यका लागि प्राप्त हुने २ मिलियन अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने।
३. अन्तर्राष्ट्रिय मुद्रा कोषबाट Rapid Credit Facility अन्तर्गत प्रास्त हुने करिब १०७ मिलियन अमेरिकी डलर बराबर निर्व्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने।
४.नेपाल भर नाप जाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नाप जाँच गरी लगत तयार गर्नका लागि आदेश जारी गर्ने।
५. राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०२६-२०३०) स्वीकृत गर्ने।
६.ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नर्म्स, २०८३ स्वीकृत गर्ने।
७.राष्ट्रिय झोलुङ्गे पुल नीति, २०८३ स्वीकृत गर्ने।