भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच पहिलो औपचारिक द्विपक्षीय वार्ता सुरू भएको छ।
सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा दुई प्रधानमन्त्रीबीच औपचारिक वार्ता सुरू भएको हो।
वार्ता सुरू हुनुअघि प्रधानमन्त्री मोदीले हैदराबाद हाउस परिसरमा प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए। त्यस क्रममा मोदीले शाहसँग अंकमाल गरेका थिए।
दुई प्रधानमन्त्रीबीचको वार्तामा नेपाल र भारतबीचको आपसी सम्बन्ध, व्यापार, ऊर्जा तथा कनेक्टिभिटीलगायत विषयमा छलफल हुने कार्यक्रम छ।
विशेषगरी भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेल सेवा सञ्चालन र भारतको धार्चुलादेखि नेपालको दार्चुलासम्म मोटरेबल पुल निर्माण लगायत विषयमा छलफल गर्ने तयारी छ।
द्विपक्षीय वार्तापछि प्रधानमन्त्री शाह र मोदीले विभिन्न परियोजनाको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम छ।
त्यस क्रममा दुई देशबीच विभिन्न समझदारीपत्र तथा सम्झौतापत्र आदानप्रदान हुनेछन्। त्यसपछि संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री मोदीले आजै प्रधानमन्त्री शाहको सम्मानमा दिवाभोज आयोजना गर्नेछन्।
त्यसपछि प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
दुईदिने भारत भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाह आजै स्वदेश फर्कनेछन्।
उनी अपराह्न ४:५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्ने र साँझ ६:३५ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ।