प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरूण जलविद्युत आयोजनाको संयुक्त रूपमा शिलान्यास गरेका छन्।
सोमबार नयाँ दिल्लीमा भएको द्विपक्षीय भेटवार्तापछि दुई प्रधानमन्त्रीले कोशी प्रदेशमा निर्माण हुने उक्त आयोजनाको शिलान्यास गरेका हुन्।
करिब ६० करोड अमेरिकी डलर लागत अनुमान गरिएको यो आयोजना भारत सरकारको स्वामित्व रहेको सतलज जलविद्युत निगम (एसजेभिएन) अन्तर्गतको कम्पनीले निर्माण गर्नेछ।
आयोजनाको लगानी व्यवस्थापन पूरा भएको र अब निर्माणको चरणमा प्रवेश गरेको छ।
संखुवासभा र भोजपुर जिल्लामा पर्ने यो आयोजना निर्माणका लागि नेपाल सरकारको लगानी बोर्ड र एसजेभिएन लोअर अरूण पावर डेभलपमेन्ट कम्पनीबीच सन् २०२३ जुन १ मा आयोजना विकास सम्झौता (पिडिए) भएको थियो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को भारत भ्रमण क्रममा उक्त सम्झौता भएको हो।
आयोजनाबाट उत्पादन हुने कुल बिजुलीको २१.९ प्रतिशत नेपालले निःशुल्क पाउने लगानी बोर्ड स्रोतले जानकारी दियो। यसबाहेक नेपालले प्रचलित व्यवस्था अनुसार रोयल्टी तथा अन्य आर्थिक लाभ पनि प्राप्त गर्नेछ।
यो आयोजना निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा विकास गरिनेछ। व्यावसायिक उत्पादन सुरू भएको २५ वर्षपछि आयोजना चालु अवस्थामै नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ।
तल्लो अरूणको विशेषता के हो भने यसमा छुट्टै ठूलो बाँध निर्माण गर्नुपर्ने छैन। निर्माणाधीन ९०० मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत आयोजनाबाट बिजुली उत्पादन गरेर निस्किएको पानी नै तल्लो अरूणमा प्रयोग गरिनेछ।
यसका लागि करिब १७ किलोमिटर लामो सुरूङ निर्माण गरी पानी विद्युत गृहसम्म पुर्याइनेछ। आयोजनामा १६७.२५ मेगावाट क्षमताका चारवटा उत्पादन युनिट रहनेछन्।
कम्पनीका अनुसार आयोजना पूरा भएपछि वार्षिक करिब २ अर्ब ९० करोड युनिट बिजुली उत्पादन हुने अनुमान छ।
नेपालको लगानी बोर्डले सन् २०२३ अप्रिलमा आयोजनाका लागि ९२ अर्ब ६८ करोड रूपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको थियो।
एसजेभिएनले सन् २०२१ मा आयोजना विकासको जिम्मेवारी पाएको थियो। त्यस बेला आयोजनाको क्षमता ६७९ मेगावाट प्रस्ताव गरिएकोमा पछि ६६९ मेगावाट कायम गरिएको हो।
एसजेभिएनले यही अरूण नदीमा ९०० मेगावाटको अरूण तेस्रो आयोजना पनि निर्माण गरिरहेको छ।
तल्लो अरूणको शिलान्याससँगै एउटै नदीमा भारतीय सरकारी कम्पनीमार्फत निर्माण भइरहेका दुई ठूला जलविद्युत आयोजनाको कुल क्षमता १,५६९ मेगावाट पुगेको छ।