प्रहरी महानिरीक्षक (आइजिपी) पदमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा सोमबार छलफल हुने तय थियो।
गोलाप्रथाबाट उक्त रिटको सुनुवाइ न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा हुने तय भएको थियो।
अघिल्लो इजलास अर्थात् मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै आजका लागि अन्तरिम आदेशबारे छलफल गर्ने गरी मिति तोकेको थियो।
मिति तोकिए पनि दुवै पक्षबीचको सुनुवाइ भने हुन सकेन। किन? कार्कीले दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय नक्साल र हालका आइजिपी मनोजकुमार केसीलाई समेत विपक्षी बनाइएको थियो।
प्रारम्भिक सुनुवाइपछि अन्तरिम आदेशका लागि हुने छलफलमा सहभागी हुन विपक्षीहरूलाई सूचना दिनुपर्ने व्यवस्था छ। सो व्यवस्था अनुसार सर्वोच्च अदालतले यी सबै निकायलाई म्याद पठाएको थियो।
तर आइजिपी मनोजकुमार केसीका नाममा पठाइएको म्याद भने बुझिएन। कार्यालयमा म्याद बुझाउन जाँदा केसी उपस्थित नभएको र कार्यालयले समेत उक्त पत्र बुझ्न अस्वीकार गरेको थियो।
‘मंसिर ४ गते जारी भएको म्याद बुझाउनका लागि उहाँको कार्यालयमा जाँदा कार्यालयबाट सम्बन्धित व्यक्ति मिटिङमा जानुभएको, फर्किआउनुहुने भनी पर्खाउनु भएकोमा कार्यालय समयसम्म पनि उहाँ उपस्थित नभएको र कार्यालयले समेत म्याद बुझ्न इन्कार गरेको कारण म्याद तामेल गर्न नसकेको भन्ने व्यहोराको म्याद फिर्ता गरेको प्रतिवेदन पेस गर्नुभएको देखियो,’ न्यायाधीश फुयाल र पाण्डेयको इजलासमा भनिएको छ।
यसरी म्याद नबुझेको केसी पक्षका एक जना कानुन व्यवसायी भने सोमबार इजलासमा उपस्थित थिए। उनले म्याद नबुझ्नुको कारण प्राविधिक रहेको जानकारी इजलासमा गराएका थिए।
सर्वोच्च अदालत स्रोतका अनुसार म्याद बुझाउन जाँदा फिर्ता भएपछि केसीलाई ह्वाट्सएपमार्फत नै उक्त पत्र पठाइएको थियो। ‘म्याद नबुझेर उताबाट फिर्ता भयो। त्यसपछि प्रशासनबाट कर्मचारीले ह्वाट्सएपमार्फत पठाएको थियो। यसरी पठाइएको सूचनालाई आधिकारिक मान्न वा नमान्न पनि सक्छ,’ स्रोतले भन्यो।
म्याद नबुझेको भनिएपछि इजलासमै न्यायाधीशले महान्यायाधिवक्ता नारायणदत्त कँडेललाई बोलाएका थिए। इजलासले पनि यसरी पठाइएको सूचनालाई आधिकारिक नमानेसँगै आइजिपी केसीका नाममा पुनः म्याद बुझाउन आदेश दिएको छ।
‘म्याद प्राविधिक कारणले बुझ्न नसकिएको र यस अदालतबाट उक्त म्याद पुनः जारी भएमा फिर्ता नहुने भनी पुनः जारी गरिपाउन यस इजलाससमक्ष अनुरोध गर्नुभएको हुँदा विपक्षी नेपाल प्रहरी प्रधान कार्यालयलाई प्रतिनिधित्व गर्नुहुने निज अधिवक्तामार्फत प्रस्तुत निवेदनमा विपक्षी नेपाल प्रहरीका आइजिपी डा. मनोजकुमार केसीका नाममा जारी भएको मंसिर ४ को म्याद बुझाइ प्राप्त भएपछि नियमानुसार पेस गर्नुहोला,’ इजलासले भनेको छ।
सोमबार बसेको इजलासले पनि यस रिटलाई छिटो टुंग्याउनुपर्ने प्रकृतिको रहेको उल्लेख गरेको छ। यस निवेदनको सुनुवाइलाई प्राथमिकता दिएर पालो आउने गरी मंसिर ९ गतेका लागि तोक्न आदेश दिएको छ।
यसअघि मंसिर २ गतेको इजलासले कार्कीलाई प्रधानमन्त्रीको विशेष सल्लाहकार पदमा नियुक्त गर्ने र आइजिपीमा केसीलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयको प्रमाणित प्रतिलिपि तथा अन्य कुनै कागजात भए तीसमेत पेस गर्न आदेश दिएको थियो।
त्यस्तै, सर्वोच्च अदालतले सरकारका नाममा १५ दिनभित्र लिखित जवाफ पेस गर्न पनि आदेश दिएको थियो।
कात्तिक १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई आइजिपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो। त्यस्तै, मनोजकुमार केसीलाई आइजिपी बनाउने निर्णयसमेत गरेको थियो।
उक्त निर्णयविरुद्ध कार्कीले आफूलाई पुनर्बहाली गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
प्रारम्भिक छलफलमा कार्कीका पक्षबाट अधिवक्ताहरू टीकाबहादुर कुँवर, माधव बस्नेत, वरिष्ठ अधिवक्ताहरू सतीशकृष्ण खरेल, बद्रीबहादुर कार्की, दिनमणि पोखरेल, पूर्णमान शाक्य र राधेश्याम अधिकारीलगायतले बहस गरेका थिए।
उनीहरूले प्रहरी नियमावलीमा महानिरीक्षकको पदावधि स्पष्ट तोकिएको अवस्थामा सरकारले जिम्मेवारी फेरबदलका नाममा कार्कीलाई हटाउन नमिल्ने तर्क गरेका थिए।
प्रहरी नियमावलीमा महानिरीक्षकको अनिवार्य अवकाशको उमेर ५८ वर्ष, सेवा अवधि ३० वर्ष र पदावधि चार वर्ष तोकिएको छ।
नियमावलीमा उल्लिखित यी व्यवस्थाबाहेक अन्य आधारमा महानिरीक्षकलाई पदबाट हटाउन नमिल्ने उनीहरूको तर्क थियो।