प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गरे।
सोमबार हैदराबाद हाउसमा प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता सकिएपछि संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको थियो।
संयुक्त पत्रकार सम्मेलनको सुरूमा भारतीय प्रधानमन्त्री मोदीले सम्बोधन गरे।
उनले प्रधानमन्त्री बालेनको प्रशंसा गरे र नेपाल-भारत सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरे।
साथै नेपालसँगको सम्झौता र सहायताहरूबारे बोले।
त्यसपछि प्रधानमन्त्री बालेनले सम्बोधन गरे।
उनले नेपाल-भारत सम्बन्धको आयाम र आगामी दिनमा अझै व्यापक बनाउनुपर्ने विषय राखे। उनले समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्ता पनि दिए।
यस्तो छ प्रधानमन्त्री बालेनको सम्बोधनको पूर्णपाठः
भारत का प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदी जी, आदरणीय मित्रहरू, सर्वप्रथम नमस्कार।
भगवान श्री पशुपतिनाथ, माता जानकी तथा करुणामय मच्छिन्द्रनाथको आशीर्वाद एवं नेपाली जनताको स्नेह, प्रेम र सद्भाव भारत र यहाँका आत्मीय जनताका लागि लिएर भारतको राजकीय भ्रमणमा आएको छु।
यस हार्दिक निमन्त्रणाका लागि तथा न्यायो आतिथ्यतका लागि महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीप्रति हार्दिक आभार प्रकट गर्दछु।
पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल–भारत सम्बन्धको मूल आधारशिला हो। अतुलनीय यस सम्बन्धको केन्द्रमा हाम्रो दुई देशका जनता रहेका छन्।
नेपाल र भारतबीचको सम्बन्ध हिमाल झैं अटल र महासागर झैं गहिरो छ। यो यस्तो आत्मीय निकटता हो, जसलाई शब्दको सीमिततामा बाँध्न सकिँदैन।
एक विश्वसनीय छिमेकीका रूपमा भारतले हरेक प्राकृतिक विपदको घडीमा सहयोग गर्दै आएकोमा म भारत सरकार जनताप्रति कृतज्ञता व्यक्त गर्दछु।
भर्खरै हाम्रो प्रतिनिधिमण्डल स्तरीय वार्ता सम्पन्न भएको छ।
शताब्दियौँ पुरानो ऐतिहासिक सम्बन्धलाई सुदृढ र युगसापेक्ष बनाउने उद्देश्यका साथ सम्बन्धका बहुआयामिक पक्ष, गहन, सार्थक र दूरगामी छलफल भएको छ।
यस क्रममा नेपाल-भारत सहकार्यका विविध क्षेत्रमा महत्वपूर्ण साझेदारी तथा पूर्वाधारको उद्घाटन एवं शिलान्याससमेत सम्पन्न भएका छन्।
हामीले आज गरेका समझदारीहरू र अघि बढाएका परियोजनाहरूको प्रतिफल किसानको खेतमा समृद्धिका रूपमा देखिनुपर्छ। युवाको हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ। विद्यार्थीका सपना नयाँ सम्भावनाका रूपमा विस्तार हुनुपर्छ र उद्यमीले नयाँ बजार, लगानी तथा व्यावसायिक विस्तारका अवसरका रूपमा अनुभूत गर्न सक्नुपर्छ।
मित्रहरू, यो ऐतिहासिक उलब्धिहरूले नेपाल-भारत सम्बन्ध नवीन उचाइमा पुर्याउने कुरामा म पूर्ण विश्वस्त छु। आजको आवश्यकता भनेको यही चिरस्थायी सम्बन्धलाई सुदृढ जगमा उभिएर भविष्यका लागि बलिया स्तम्भहरू निर्माण गर्नु हो।
स्वच्छ जलका स्रोत हाम्रा हिमालयहरूले यस क्षेत्रका करोडौँ जनतालाई जीवन दिइरहेका छन्। हिमालयबाट बगेर गंगासम्म पुग्ने निर्मल नदीहरूले हामीलाई भविष्य र गन्तव्यको स्मरण गराउँदै जलवायु परिवर्तनका चुनौतीहरूलाई सहकार्यमार्फत सम्बोधन गर्नुपर्ने आवश्यकता उजागर गर्दछन्।
नेपाल र भारतबीचको सम्बन्ध भगवान् श्रीराम र माता जानकीको पावन युगदेखि नै ऐतिहासिक, सांस्कृतिक र सभ्यताको आधारमा गाँसिएको छ। आज हामीले यस सम्बन्धलाई थप जीवन्त बनाउन रेल सेवाको शुभारम्भ गरेका छौँ।
हाम्रा पुर्खाले स्थापित गरेको यस बलियो ऐतिहासिक जगलाई आधार बनाएर आपसी विश्वास, सहकार्य र साझा समझदारीतर्फ नेपाल–भारत सम्बन्धलाई नयाँ युगको आवश्यकताअनुरूप विकास साझेदारीका रूपमा परिणत गर्ने एवं हाम्रा नवयुवा पुस्ताका लागि सम्भावनाको ढोका खोल्ने असाधारण जिम्मेवारी आज समयले हामीलाई सुम्पेको छ।
मित्रहरू, यही अवसरमा हाम्रो आर्थिक समुन्नति साझेदारी निम्ति भारतीय लगानीहरूलाई नेपालमा हार्दिक स्वागत गर्न चाहन्छु।
आगामी दिनमा भारतीय विद्यार्थीहरू नेपालमा स्थापना हुने आईआईटीमा अध्ययन गर्ने आउने वातावरण बनाउनका साथै नागरिकको सहज आवागमनका लागि दुवै देशका सहरबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्ने दिशामा हामी अघि बढ्नुपर्छ।
हाम्रो दुई मुलुकको समृद्ध भविष्यका लागि मिलेर काम गर्न हामीले ज्वाइन्ट भिजन डकुमेन्ट एवं हाम्रा साझा उपलब्धिहरू ज्वाइन्ट प्रेस रिलिजमार्फत यस समक्ष प्रस्तुत गर्दछौँ।
यस महत्वपूर्ण अवसरमा महामहिम श्री नरेन्द्र मोदी जीलाई सम्पूर्ण नेपाली जनताको तर्फबाट नेपाल भ्रमणका लागि हार्दिक निमन्त्रणा दिन चाहन्छु।
साथै मित्रराष्ट्र भारतका आत्मीय जनतालाई हिमालयको काखमा अवस्थित मुक्तिनाथ, भगवान् श्री पशुपतिनाथ, तराईको समथर भूमिमा रहेकी माता जानकी, जीवित देवी कुमारी एवं शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल नेपालको भ्रमणका लागि हार्दिक निमन्त्रणा गर्न चाहन्छु।
नेपाल–भारतबीचको मित्रता यस्तो होस्, जहाँ विश्वास हिमालयझैं अग्लो होस्, सहकार्य नदीजस्तै अविरल होस् र दुवै राष्ट्रको समृद्धि साझा आकाशमुनि फक्रियोस्।
हामी सबैको जय होस्। धन्यवाद।
***