गैरआवासीय नेपालीहरूको समेत लगानी रहेको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड सञ्चालनमा आएको छ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सभामुख देवराज घिमिरेले फर्मास्युटिकल्सको उद्घाटन गरेका हुन्।
औषधि उत्पादन क्षेत्रमा पछिल्लो डेढ दशकयता नेपालमा राम्रो प्रगति भएको बताउँदै सभामुख घिमिरेले नेपालजस्तो मुलुकमा औषधि उत्पादन तथा बजार व्यवस्थापन विकसित मुलुकको तुलनामा निकै पछाडि रहेको उल्लेख गरे।
‘धेरै क्षेत्रमा शतप्रतिशत आयातमा भर पर्नुपर्ने अवस्थाका बीच पनि कुल मागको झण्डै ५० प्रतिशत स्वदेशी उद्योगको उत्पादनले धानिरहेको अवस्था छ। यो अवस्था सुखद् छ, तर अझै सुधार गर्नुपर्ने आवश्यकता देखेको छु,’ उनको भनाइ छ।
कार्यक्रममा पूर्वस्वास्थ्य मन्त्री पदम गिरी र गण्डकी प्रदेशका पूर्वआर्थिक मामिला मन्त्री किरण गुरूङले स्वदेशी औषधिलाई प्रवर्द्धन गर्न नीतिगत व्यवस्था नै लगानीमैत्री हुनुपर्नेमा जोड दिए।
उनीहरूले औषधिमा भएको लगानी खेर जान नदिन आयातमा भएको खुलापनमा पुनर्विचार गर्नुपर्ने बताए।
कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले गुणस्तरीय स्वदेशी औषधि उद्योगको भविष्य राम्रो रहेको कुरा बताए।
ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने औषधिमा आम समुदायको चासो र लगानी प्रवर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्दै गुणस्तरीय औषधिमा जनताको प्रत्यक्ष पहुँच स्थापित गर्न तथा निर्यातको ठोस कार्ययोजनासहित अगाडि बढ्नुलाई प्रमुख दायित्व ठानेको बताए।
झण्डै सवा अर्ब लगानीमा सुरू भएको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको उत्पादन कारखाना चितवनको जुगेडीमा रहेको छ।