कपिलवस्तुमा लागु औषध ब्राउन सुगरसहित एक जना युवती पक्राउ परेकी छन्।
जिल्लाको शिवराज नगरपालिका– २ हल्लानगर बाट २३ वर्षीया अस्मिता बोहोरा ब्राउन सुगरसहित पक्राउ परेकी हुन्।
आइतबार राति १० बजेतिर हल्लानगरस्थित घरबाटै बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्लाका प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले बताए।
उनको घरमा लागुऔषधको कारोबार भइ रहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाबाट प्रहरी सहायक निरीक्षक जयबहादुर घर्तीको कमाण्डमा खटिएको पाँच जनाको प्रहरी टोलीले घर खानतलासी कोठाको दराजमाथि लुकाइ छिपाइ राखिएको ब्राउन सुगर भेटिएपछि बोहरालाई नियन्त्रणमा लिएको थियो।
बरामद भएको ब्राउन सुगरको तौल ९ ग्राम २४० मिली ग्राम रहेको प्रहरीले जनाएको छ।
उनको साथबाट त्यो तौल गर्न आवश्यक डिजिटल मेसिन थान १ समेत फेला परेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेकी बोहरामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
डिएसपी सिंहका अनुसार साउन यता विभिन्न प्रकारका लागुऔषधसहित २३ पुरुष र ७ महिला गरी ३० जना पक्राउ परेका छन्।
साउनमा ३ पुरुष, भदौमा १४ पुरुष र ६ महिला, असोजमा ३ पुरुष र गएराति एक महिला लागु औषधसहित पक्राउ परेकी हुन।
पक्राउ परेका मध्य १५ जनाविरुद्ध मुद्दा चलाइएको थियो।
उनीहरुको साथबाट गाँजा ५ किलो १३० ग्राम, चरेश २२५ ग्राम, हिरोइन ११ ग्राम ९७० मिलिग्राम , अफिम १० किलो ३६४ मिलिग्राम, नाइट्राभेट २०, स्यास्मो ८, कोडियन सिरफ बोत्तल १०० मिली लिटरको १ थान बरामद भएको छ।