कपिलबस्तु प्रहरीले भारतबाट कृष्णनगर सीमा नाका हुँदै नेपाल प्रबेश गराइएका १० वटा भैंसीका पाडाहरु नियन्त्रणमा लिएको छ।
जिल्लाका प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्रकुमार सिंहका अनुसार सोमबार बिहान पौने ५ बजेतिर कृष्णनगर नगरपालिका– २ बाट भारतबाट नेपाल प्रबेश गराइएका १० वटा पाडाहरु नियन्त्रणमा लिइएको हो ।
इलाका प्रहरी कार्यालय कृष्णनगरबाट प्रहरी सहायक निरीक्षक ओमप्रकाश पौडेलको कमाण्डमा खटिएको ५ जनाको टोलीले चन्द्रौटा कृष्णनगर सडक–खण्डबाट भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउँदै गरेका ती पाडासहित दुई जनालाई पक्राउ गरेको थियो ।
प्रहरीले पाडाहरु संगै कृष्णनगर– १२ सोनवर्षाका २७ वर्षीय मोहन यादव र २२ वर्षीय शिवकुमार यादवलाई नियन्त्रणमा लिएको थियो।
नियन्त्रणमा लिइएका पाडाहरुको अन्दाजी बजार मूल्य प्रति पाडा ५० हजारका दरले ५ लाख बराबर रहेको पनि प्रहरीले जनाएको छ।
पक्राउ परेका ब्यक्तिसहित १० वटा भैसीका पाडाहरु भन्सार कार्यालय कृष्णनगर पठाइएको पनि प्रहरीले जनाएको छ।