चितवनमा ग्यास बुलेट र ट्रक ठोक्किदा दुई जना घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्गस्थित टिकौली जंगलमा भरतपुरतर्फ आइरहेको एनएल–०१ एन ०१३३ नम्बरको ग्यास बुलेट र विपरीत दिशाबाट गइरहेको बागमती प्रदेश ०३–००१ ख ३४१९ नम्बरको ट्रक ठोक्किएका थिए।
दुर्घटनामा ट्रकका सहचालक राप्ती–२ बस्ने २४ वर्षीय प्रविन प्रजा र ग्याँस बुलेटका चालक भारतको बिहार राज्य गोपालगंज बस्ने अन्दाजी ४५/५० वर्षका जगदेव यादव घाइते भएका छन्। प्रजाको चितवन मेडिकल कलेज र यादवको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालले ट्रक सहचालकले चलाएको पाइएको जानकारी दिए।
दुबै सवारी साधन र ट्रक चालक बाराको कलैया–१७ बस्ने ३१ वर्षीय सुवोधप्रसाद यादव नियन्त्रणमा रहेको खनालले बताए।