काठमाडौं जिल्ला अदालतबाट भागेका थुनुवा पक्राउ परेका छन्।
आइतबार बिहान पौने ११ बजे जिल्ला अदालत काठमाडौंबाट २१ वर्षीय निराजन ठकुरी भन्ने दशरथ शाही भागेका थिए।
उनलाई प्रहरीले साँझ ५ बजेतिर गोंगबु बसपार्कमा रहेको मल क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
‘फरार भएका शाही हतकडीसहित पक्राउ परिसकेका छन्,’ उनले भने।
रूकुम पश्चिम घर भई गोंगबु बस्ने शाहीलाई प्रहरी वृत्त सोह्रखुट्टेले जेठ २० गते पक्राउ गरेको थियो।
चोरी मुद्दामा अनुसन्धान सकेर उनलाई थुनछेकका लागि अदालतमा लगिएको थियो। अदालतको पहिलो तलामा रहेको ४ नम्बर इजलासमा उनको थुनछेक भइरहेको एसपी बोहराले बताए।
‘भित्र हतकडी लगाउन पाइँदैन। तर पिसाब लाग्यो भनेपछि शौचालय लगिएको थियो। त्यहाँ लग्दा एक हातमा लगाइएको थियो,’ उनले भने, ‘त्यसपछि झ्यालबाट हतकडीसहित हामफालेर भागेका हुन्।’
उनका अनुसार झ्यालबाट हामफालेपछि उनले लगाइरहेको ज्याकेट फुकालेर हतकडी लुकाएका थिए।
त्यसपछि एउटा राइड शेयरिङका राइडरलाई बसपार्क पुर्याउन भनेर उनी भागेको एसपी बोहराले बताए।
उनी बसपार्कबाट कहाँ भाग्न लागेका थिए भन्ने खुलिसकेको छैन।