काठमाडौंको गौशालामा लुटपाट गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
दुबईबाट फर्किएका व्यक्तिलाई लुटपाट गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
पक्राउ पर्नेमा दक्षिणकालीका ३२ वर्षीय रामबहादुर तामाङ, सिन्धुपाल्चोकका ३० वर्षीय बिपिन लामा, महोत्तरीका विनोद मगर, रामेछापका ३० वर्षीय राजु तामाङ र ३० वर्षीय राजकुमार माझी छन्।
शुक्रबारसाँझ गौशालाको रून्चेडाँडाको सडकमा उनीहरूको समूहले दुबईबाट फर्किएका व्यक्तिलाई नियन्त्रणमा राखेका थिए।
डर त्रास देखाएर ती व्यक्तिसँग भएको ४५ हजार रुपैयाँ लुटेका थिए।
लुटेर भाग्न बित्तिकै प्रहरीको १०० नम्बरमा फोन आएको थियो।
शुक्रबार साँझ साढे ६ बजेतिर प्रहरीले उनीहरूलाई फेला पारेर नियन्त्रणमा लिएको हो।
उनीहरूमाथि अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति लिएको छ।