भोटेकोशीमा फेरि भेलबाढी आएको छ।
बुधबार बिहान २:१४ बजे भोटेकोशीमा बाढी आएको हो।
बाढीले तटीय क्षेत्रमा कटान र केही टहराहरूमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी इन्स्पेक्टर राजु शाहले जानकारी दिए।
उनका अनुसार भोटेकोशीको जलसतह यसअघि असार २४ को भन्दा ठूलो छ।
उनले क्षतिको विवरण पनि बुझ्ने काम भइरहेको जानकारी दिए।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीले सुरक्षा निकायलाई अलर्टमा राखिएको जानकारी दिए।
उनले पनि यसपटकको बाढी अघिल्लोपटकको भन्दा पनि ठूलो रहेको जानकारी दिए।
'अघिल्लो पटक लेदोसहितको बाढी भएका कारण ठूलो क्षति पुर्यायो। अहिले पनि पानीको मात्रा धेरै छ। त्यति ठूलो असर भएको छैन। बुझ्ने काम भइरहेको छ,' उनले भने।
टिमुरे भन्सार यार्डबाट गाडीहरू यसअघि नै निकालिसकिएको पनि उनले बताए।
सहायक प्रजिअ अधिकारीले चीनतर्फबाट ठूलो पानी पर्न सक्ने सम्भावना रहेकाले सतर्क रहन भनेर सोमबार सूचना प्राप्त भएको थियो।
त्यही अनुसार सबै निकायमा सूचना प्रवाह भएको थियो। सोही अनुसार सुरक्षा निकाय र सरोकारवाला निकायहरूलाई सतर्क रहन भनिएको उनले बताए।
भोटेकोशीमा बाढी आएपछि रसुवासहित तीन जिल्लाका सुरक्षा निकाय हाइ अलर्टमा छन्।
भोटेकोशी नुवाकोटमा पुगेपछि त्रिशूलीमा मिसिन्छ। रसुवामा बाढी आएपछि त्रिशूलीमा पनि जलसतह बढ्ने गर्छ।
रसुवासहित नुवाकोट र धादिङका सुरक्षा निकाय हाइ अलर्टमा छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डिएसपी विक्रम लामाले बाढीबारे रसुवा प्रशासनबाट बिहान ३ बजे खबर आएको जानकारी दिए।
'त्यसपछि तटीय क्षेत्रमा राति नै अलर्ट गरायौं। भेल चाहिँ बढेको छ। अस्तिकै जस्तो ठूलै आएको छ। क्षतिको विवरण आएको छैन। तटीय क्षेत्रमा प्रहरी युनिटहरूलाई अलर्ट राखिएको छ,' उनले भने।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले पनि त्रिशूलीको बहाब बढेका कारण तटीय क्षेत्रमा प्रहरी युनिटहरूलाई अलर्टमा राखिएको जानकारी दिए।
'माथितिर बाढी आएको भन्ने जानकारीपछि सतर्क रहन भनेका छौं। प्रहरीहरू पनि खटाएका छौं,' उनले भने।