कपाल झर्ने, चाया पर्ने, समय अगावै कपाल फुल्ने तथा तालु खुइलिने समस्या पछिल्लो समय धेरैमा देखिन थालेको छ।
खानपानमा असन्तुलन, पोषणको कमी, तनाव, निद्राको अनियमितता, वंशाणुगत कारण तथा कपालमा प्रयोग गरिने विभिन्न रासायनिक पदार्थले कपालको स्वास्थ्यमा असर पार्न सक्ने छाला तथा यौन रोग विशेषज्ञ डा. पारस श्रेष्ठले बताएका छन्।
कपाल झर्ने समस्या देखिनासाथ यसको कारण पहिचान गरी समयमै उपचार सुरू गर्न सके झर्ने क्रम कम गर्न तथा केही अवस्थामा कपाल पुनः पलाउन समेत मद्दत पुग्ने उनको भनाइ छ।
'कपाल सम्बन्धी समस्या बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहमा देखिन्छ। बालबालिकामा टिनिया क्यापिटिसजस्ता फंगल संक्रमण, टाउकोको छालामा हुने समस्या तथा पोषणको कमीका कारण कपालको रङ परिवर्तन हुने समस्या देखिन सक्छ,' उनले भने।
वयस्कमा भने कपाल झर्ने, चाया पर्ने र वंशाणुगत कारणले तालु खुइलिने समस्या बढी देखिन्छ।
पोषणको कमी र तनावले कपालमा असर
डा. श्रेष्ठका अनुसार कपाल झर्नुका प्रमुख कारणमध्ये पोषणको कमी, तनाव, निद्राको अनियमितता र वंशाणुगत समस्या हुन्।
विशेषगरी भिटामिन डीको कमी पनि धेरैमा देखिने गरेको उनले बताए।
थाइराइड, मधुमेह, अन्य रोग, शल्यक्रिया तथा गर्भावस्थापछि हुने शारीरिक परिवर्तनका कारण पनि कपाल झर्न सक्छ। कोभिड संक्रमणपछि पनि कतिपयमा कपाल झर्ने समस्या देखिएको छ।
'वंशाणुगत कारणले हुने एन्ड्रोजेनेटिक एलोपेसियामा निधारको कपाल पछाडि सर्दै जाने वा तालुको भाग पातलो हुँदै जाने समस्या देखिन सक्छ।
जीवनशैलीका विभिन्न पक्षले गर्दा यस्तो समस्या चाँडै देखिन सक्छ,' उनले भने,'सामान्य अवस्थामा दैनिक करिब १०० देखि १५० वटासम्म कपाल झर्नु स्वाभाविक हुन्छ।प्रत्येक कपालको आफ्नै वृद्धि र झर्ने चक्र हुने भएकाले सबै कपाल एकैपटक झर्दैनन्।'
कपालको घनत्व घट्दै जानु, पहिले बाक्लो रहेको भाग पातलो देखिनु वा टाउकोको छाला स्पष्ट देखिन थाल्नु कपाल झर्ने समस्या बढेको संकेत हुन सक्ने भन्दै उनले यस्तो अवस्थामा समयमै चिकित्सकसँग परामर्श लिनु आवश्यक रहेको उनले बताए।
चाया र कपालमा प्रयोग गरिने सामग्रीमा ध्यान जरूरी
कपालमा चाया पर्नु सामान्य समस्या भए पनि यसको कारण फरक–फरक हुन सक्ने डा. श्रेष्ठले बताए।
छालाको मृत कोषिका झर्ने प्राकृतिक प्रक्रियाका क्रममा चाया देखिन सक्छ। तर, फंगल संक्रमण, सोरायसिस तथा टाउकोको छाला सम्बन्धी अन्य समस्याले पनि चाया बढाउन सक्छन्। चायाका कारण चिलाउने, घाउ हुने तथा कपडामा सेतो कण देखिने समस्या हुन सक्छ।
'तातो पानीले नुहाउँदैमा सबैको कपाल झर्छ भन्ने धारणा सही नभए पनि धेरै तातो पानीले टाउकोको छाला सुक्खा बनाउन र पहिलेदेखि रहेको समस्या बढाउन सक्छ। त्यसैगरी, कपालमा प्रयोग गरिने स्याम्पु, साबुन, क्रिम तथा अन्य सामग्रीमा भएका तत्वले पनि कपाल र छालामा असर पार्न सक्छन्,' उनले भने, 'कपालको प्रकार र आफ्नो छालालाई सुहाउने सामग्री छनोट गर्नुपर्छ। सल्फेटरहित स्याम्पु तथा उपयुक्त सामग्री छनोट गर्न सकिने भए पनि कुनै उत्पादनले मात्र कपाल झर्ने समस्या समाधान गर्दैन।'
‘हर्बल’ वा ‘प्राकृतिक’ भनेर प्रचार गरिएका सामग्री पनि जथाभावी प्रयोग गर्नु उचित नहुने उनको भनाइ छ।
प्याज, लसुन, अदुवा लगायत घरेलु सामग्री कपालमा लगाउँदा पनि सावधानी अपनाउनुपर्ने उनले बताए।
कपालमा रङ लगाउँदा पनि ध्यान दिनुपर्ने डा. श्रेष्ठको सुझाव छ।
हेयर डाईमा रहेका रासायनिक तत्वले कसैमा एलर्जी तथा छालाको समस्या निम्त्याउन सक्छन्। त्यसैले रङको प्रयोग सकेसम्म कम गर्ने, छालामा प्रत्यक्ष सम्पर्क हुन नदिने र त्यसमा प्रयोग भएका तत्वबारे जानकारी लिने गर्नुपर्छ। समयअगावै कपाल फुल्नुमा वंशाणुगत कारणसँगै पोषणको कमी तथा अन्य शारीरिक कारण पनि हुन सक्ने उनको भनाइ छ।
कपाल प्रत्यारोपण सबैका लागि आवश्यक छैन
कपाल झर्ने समस्या बढ्दै गएमा उपचारका विभिन्न विकल्प अपनाउन सकिने डा. श्रेष्ठको भनाइ छ। समयमै उपचार सुरू गर्दा कपाल झर्ने क्रमलाई नियन्त्रण गर्न तथा आवश्यकताअनुसार कपालको वृद्धि सुधार्न सकिन्छ। यद्यपि, वंशाणुगत कारणले हुने कपाल झर्ने समस्यालाई पूर्ण रूपमा रोक्नेभन्दा त्यसको प्रगतिलाई ढिलो गराउनु उपचारको उद्देश्य हुन सक्ने उनले स्पष्ट पारे।
'कपाल प्रत्यारोपण भने व्यक्तिको अवस्था, कपाल झरेको क्षेत्र, प्रत्यारोपण गर्न चाहेको भाग र पछाडिको डोनर क्षेत्रमा उपलब्ध कपालको गुणस्तर तथा घनत्वका आधारमा निर्णय गर्नुपर्छ,' उनले भने, 'सामान्यतया टाउकोको पछाडिको भागबाट कपाल निकालेर अगाडि वा आवश्यक अन्य भागमा प्रत्यारोपण गरिन्छ। आवश्यक परे दाह्री, छाती तथा शरीरका अन्य भागका कपाल पनि प्रयोग गर्न सकिन्छ।'
डा. श्रेष्ठका अनुसार एकपटकमा करिब २ हजार ५०० देखि ३ हजारसम्म कपाल प्रत्यारोपण गर्नु उपयुक्त हुन सक्छ भने अधिकतम ४ हजारसम्म प्रत्यारोपण गर्ने अभ्यास रहेको छ। प्रत्यारोपणको मात्रा व्यक्तिको अवस्थाअनुसार निर्धारण गर्नुपर्छ। डोनर क्षेत्रबाट अत्यधिक कपाल निकाल्दा पछाडिको भागमा समेत पातलोपन र दाग देखिन सक्ने भएकाले गुणस्तरलाई प्राथमिकता दिनुपर्छ।
दीर्घरोग, केही प्रकारका छालासम्बन्धी रोग, रक्तसञ्चारको समस्या वा प्रतिरक्षा प्रणालीलाई असर गर्ने औषधि प्रयोग गरिरहेका व्यक्तिमा प्रत्यारोपणको नतिजा फरक हुन सक्ने भएकाले शल्यक्रियाअघि स्वास्थ्य परीक्षण र चिकित्सकीय मूल्याङ्कन आवश्यक हुने उनको भनाइ छ।
प्रत्यारोपणपछि पनि आवश्यकताअनुसार औषधि तथा अन्य उपचारबाट कपालको घनत्व कायम राख्न सहयोग पुग्न सक्छ।
डा. श्रेष्ठले कपालको स्वास्थ्यका लागि सन्तुलित खानपान, पर्याप्त पानी, प्रोटिनयुक्त भोजन, तनाव व्यवस्थापन र नियमित निद्रालाई प्राथमिकता दिन आग्रह गरे।
कपाल झर्नेबित्तिकै जथाभावी तेल, औषधि वा घरेलु सामग्री प्रयोग गर्नुभन्दा पहिले कारण पत्ता लगाउनुपर्ने उनको सुझाव छ।
कपालको समस्या बढ्दै गएको अवस्थामा समयमै विशेषज्ञसँग परामर्श लिनु नै उपयुक्त हुने उनको सुझाव छ।