जनकपुरधाममा अन्धाधुन्ध खुकुरी प्रहारबाट एक जना बालिकाको हत्या र दुई जना घाइते भएको घटनामा आरोपी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले बुधबार राति साढे १० बजे ३५ वर्षीय रामबाबु साहलाई पक्राउ गरेको हो। उनी क्षिरेश्वरनाथ नगरपालिका-९ इच्छापुर घर भइ जनकपुरधाम उपमहानगर-४ बस्दै आएका थिए।
सोमबार सोही वडामा बस्ने एक परिवारमाथि साउन १२ गते उनले आक्रमण गरेको आरोप छ।
उनले डेरामा बस्दै आएका ३५ वर्षीया आशा यादव, उनकी १५ वर्षीया छोरी अन्जलीकुमारी यादव र १४ वर्षीया भतिजी राधा यादवमाथि खुकुरी प्रहार गरेका थिए।
घटनापछि आरोपी साह फरार थिए।
घाइते तीनै जनालाई राति प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पुर्याएको थियो। त्यहाँ उपचार क्रममा मध्यराति साढे १२ बजेतिर चिकित्सकले १५ वर्षीया अन्जलीकुमारीलाई मृत घोषणा गरेको थियो।
घाइते आशालाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएको थियो। उनी राधा डिस्चार्ज भइसकेका छन्।
कार्यालयका प्रमुख एसपी नरहरि रेग्मीका अनुसार रामबाबु साहको आपराधिक पृष्ठभूमि भएका व्यक्ति हुन्।
उनले २०७१ चैत २ गते आफ्नी जेठी श्रीमती सरितादेवी साहको हत्या गरेका थिए। त्यतिबेला पक्राउ परेका उनले ५ वर्ष कैद सजाय भुक्तान समेत गरिसकेका छन्। उनी २०७७ सालमा जेलबाट छुटेका थिए।
जेलबाट छुटेको एक/दुई महिनामै उनले दोस्रो विवाह गरे। त्यसपछि उनी गाउँघरमै बस्दै आएका थिए।
प्रहरी अनुसन्धानका अनुसार त्यहीँ बस्ने क्रममा उनको आशासँग चिनजान भएको थियो। चिनजानपछि दुवै एकअर्कासँग नजिकिएका थिए।
त्यसपछि उनीहरू दुवै जनकपुरधाममा डेरा लिएर बस्न थालेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नरहरि रेग्मीले बताए।
आशा पनि विवाहित हुन्।
दुवै जना विवाहित भए पनि उनीहरू लुकिछिपी डेरामा सँगै बस्न थालेका थिए।
यसरी बसेको केही समयपछि आशाका श्रीमानले थाहा पाएका थिए।
त्यसो हुँदा आशाका श्रीमानले रामबाबुको परिवारलाई पनि यस सम्बन्धबारे जानकारी गराएका थिए। त्यसपछि रामबाबुको परिवारमा विवाद समेत भएको थियो।
दुई जनाबीचको सम्बन्ध बाहिरिएपछि दुईपक्षबीच छलफल समेत भएको एसपी रेग्मीले बताए।
‘सम्बन्धबारे बाहिरिएपछि दुबै पक्ष गाउँ समाजमा बसेर छलफल गरेका पनि रहेछन्। आशाले त्यस छलफलमा रामबाबुसँगै बस्ने बताएकी थिइन्। आशाका दुई छोरा र एक छोरालाई श्रीमानले हेरचाह गर्ने भनेर सहमति पनि जनाएको रहेछ,’ उनले भने, ‘त्यसपछि आशाका श्रीमानलाई रामबाबुले जरिवाना समेत तिरेका रहेछन्।’
उक्त दिनपछि आशाले सम्बन्ध बिच्छेद गर्ने प्रक्रिया समेत थालिसकेकी थिइन्।
सम्बन्धबिच्छेदकै प्रक्रिया थालेपछि जिविकोपार्जन गर्न भनेर रामबाबुले आशालाई अटोरिक्सा किनिदिएका थिए।
तर आशाले रामबाबुलाई थाहा नदिइ अटो रिक्सा आफ्नो भाइको नाममा गरिदिएका थिए।
पछि आशा रामबाबुसँग पनि नबसी अर्को डेरामा सरेकी थिइन्। त्यहाँ उनका भाइसँग बस्न थालेकी थिइन्। त्यो कोठामा बेलाबेलामा उनका श्रीमान समेत आउने गरेको प्रहरीले जनाएको छ।
‘आशा आफू आर्थिक रूपमा सबल हुन थालेपछि रामबाबुको फोन नउठाएको, टाढा हुन खोजेको, रामबाबुको श्रीमतीलाई मेसेज गरेर घर झगडा समेत लगाइदिएको भनिएको छ,’ एसपी रेग्मीले भने।
घटना भएको दिनमा पनि आशालाई रामबाबुले धेरै पटक फोन गरेका थिए।
आशाले भने फोन छोरीलाई उठाउन दिने गरेकी थिइन्। एकपटक उठाउँदा भने गालीगलौजसमेत गरेको प्रहरीले जनाएको छ।
‘दुबै जना गालीगलौजमा उत्रिए। त्यसपछि रामबाबु आशाको कोठामा गएर खुकुरी प्रहार गरेका रहेछन्,’ एसपी रेग्मीले भने।
प्रहरीले घटनामा प्रयोग भएको हतियार पनि बरामद गरेको छ। उनले चलाउने गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले रामबाबुमाथि थप अनुसन्धानका लागि अदालतबाट म्याद थप्ने तयारी गरेको छ।