काठमाडौंको ठेमलबाट पक्राउ परेका सानुभाइ भनिने युवराज गुरूङसहित तीन जनाविरूद्ध म्याद थप भएको छ।
प्रहरी वृत्त सोह्रखुट्टेले तीन जनालाई म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गरेको हो।
उनीहरूलाई चार दिन हिरासतमा राख्न अनुमति पाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दले जानकारी दिए।
सानुभाइसँगै रविन्द्र गुरूङ र दिलकुमार गुरूङ पनि प्रहरी हिरासतमा छन्।
उनीहरूलाई सोह्रखुट्टेको प्रहरीले दोहोरी साँझबाट पक्राउ गरेको थियो।
नुवाकोट दोहोरी साँझमा राति विवाद गरेको खबरपछि संचालकले प्रहरीलाई खबर गरेका थिए।
प्रहरी स्रोतका अनुसार सानुभाइ एक पक्ष र रविन्द्र-दिलकुमार अर्को पक्षका हुन्।
‘दुई पक्षले झगडा गरेका हुन्। संचालकले सम्पर्क गरेपछि प्रहरी पुगेको हो। पक्राउ पर्नेहरू दुई पक्षका छन्,’ स्रोतले भन्यो।
सानुभाइ पक्षका अन्य व्यक्तिहरू भने प्रहरी पुग्दा फरार भएका थिए।
वृत्तले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।
सानुभाइ बारम्बार कुटपिटका घटनामा संलग्न भएका व्यक्ति हुन्।
२०८० माघ ६ गते पनि ठमेलको एक क्लबको पार्किङमा एक पुरूषमाथि उनको समूहले कुटपिट गरेको थियो। उनी त्यतिबेला फरार भएका थिए।
त्यही साल असारमा पनि कुटपिटकै घटनामा पक्राउ परेका थिए। पछि उनी धरौटी बुझाएर छुटेका थिए।