लागुऔषध नियन्त्रण ब्युरोले ठूलो परिणाममा कोकिनसहित दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित एक होटलबाट ब्युरोको टोलीले एक जना भारतीय महिलालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ३५ वर्षीया रूबिना अब्दुल्लाह शेख छिन्। उनी भारत हुँदै इथोपिया र त्यहाँबाट कतार हुँदै मंगलबार काठमाडौं आइपुगेकी हुन्।
ब्युरो प्रमुख एसएसपी कृष्ण कोइरालाका अनुसार काठमाडौं ओर्लिएपछि प्रहरीको नजर उनीमाथि परेको थियो।
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्युरोको टोली पनि खटिन्छन्।
‘काठमाडौं ओर्लिएपछि उनको हाउभाउ डराएकोजस्तो देखिन्थ्यो। हाउभाउ हेरेर उनीमाथि शंका लाग्यो,’ एसएसपी कोइरालाले भने, ‘त्यसपछि टोलीले फलो गरेको हो।’
उनलाई पछ्याउँदा सिनामंगलकै एक होटलभित्र प्रवेश गरेको देखिएको थियो। होटल प्रवेश गरेपछि भने ब्युरोको टोली पनि त्यहाँ पुगेको हो।
ती महिलाको सामान हेरेपछि ब्युरोले हातैले बनाएको एउटा झोला बरामद गर्यो।
‘झोलाभित्रै केही राखेको हुनसक्छ भनेर हेरिएको थियो,’ उनले भने।
झोला हेर्नेक्रममा त्यसभित्र ट्युब भेटियो। ट्युबलाई प्लास्टिकले बेरेर त्यसमाथि कालो टेपले बेरेर जुटको जस्तो देखिने कपडाले बेरिएको थियो।
त्यसलाई फुकालेर हेरेपछि भने भित्र कोकिन भेटिएको हो। ट्युबभित्रबाट एक किलो ५७४ ग्राम कोकिन फेला परेको हो।
‘झोला पनि विशेष खालको बनाएको छ। यसको अर्थ उनीहरूले यो झोला तस्करीकै प्रयोजनका लागि ल्याएको बुझिन्छ,’ एसएसपी कोइरालाले भने।
उनीमाथि अनुसन्धान गर्नेक्रममा अरू कोही लिन आउनेबारे खुलेको थियो।
त्यसपछि भोलिपल्ट भारतबाट लिन आएका अर्का व्यक्ति पनि पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा ३३ वर्षीय अरूणप्रताप छन्। उनलाई पनि सोही होटलबाट पक्राउ गरिएको थियो।
उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
यसअघि ब्युरोको टोलीले नागार्जुनको इचंगुनारायणबाट पनि दुई जना विदेशीलाई कोकिनसहित पक्राउ गरेको थियो।
इरितरियन नागरिक ३७ वर्षीय युसुफ एटमलाई ३२ ग्राम कोकिनसहित पक्राउ गरेको थियो। अनुसन्धानकै क्रममा रूसी नागरिक ४४ वर्षीय एन्ड्रिय मलेसेभलाई पक्राउ गरेको थियो।