अध्यागमन विभागले आधिकारिक कागजात बोकेर भिजिट भिसामा जानेहरूलाई अबदेखि नरोक्ने भएको छ।
नक्कली कागजात बोकेको शंकाकै भरमा यात्रुलाई फर्काउने गरिएकोमा अबदेखि त्यस्तो नगरिने विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए।
कुनै यात्रुबाट नक्कली कागजात भेटिए अनुसन्धानका लागि प्रहरीमा बुझाउने उनको भनाइ छ।
‘भिजिट भिसामा अब फिर्ता गर्ने (अफलोड) भन्ने हुँदैन। अब कागजात नक्कली छ भने त्यसलाई सिधै प्रहरी कहाँ पठाउने हो। त्यहाँबाटै छानबिन हुन्छ,’ तिवारीले भने।
आइतबार विभागले पत्रकार सम्मेलनको आयोजना गरी यसबारे जानकारी दिएको हो।
पछिल्लो समय भिजिट भिसामा जानेबाट अध्यागमनका अधिकृतहरूले असुली गर्ने गरेको भन्दै आलोचना भएको थियो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईमाथि छानबिनसमेत गरिरहेको छ।
यसबीचमा अध्यागमन सुधारका लागि विभिन्न प्रयास गरिरहेको महानिर्देशक तिवारीले बताए। उनले अब कसैले अध्यागमनलाई पैसा बुझाउन पर्छ भन्यो भने विश्वास नगर्न पनि आग्रह गरे।
‘अध्यागमनलाई बुझाउन पर्छ भनेर ठग्लान्, नपत्याउनुस्,’ उनले भने, ‘कागजात नक्कली बनाएर नआउनुस्, कोही, कसैलाई पनि फर्काउँदैनौं। नक्कली बनाएर आए प्रहरीलाई बुझाउँछौं। अध्यागमनको नाममा फन्दामा पर्नुहोला।’
अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत नरहरि घिमिरेले ‘फोर्जरी डिटेक्सन युनिट’ अर्थात नक्कली कागजात जाँच गर्ने निकाय नै रहेको पनि बताए।
‘फोर्जरी डिपार्टमेन्ट युनिट पनि छ, सामान्यत: कागजातहरू नक्कली हुन् भनेर हेरेपछि केही न केही बिग्रिएर थाहा पाइएकै हुन्छ। नभए कतिपयलाई केही बेरको अन्तर्वार्तामै पनि थाहा पाइन्छ,’ उनले भने, ‘एक महिना भयो अध्यागमनमा बसेको, कतिपयले भिजिट भिसामा श्रम गर्न जान लागेको भनेर आफैंले पनि स्वीकार्छन्।’
अध्यागमन विभागको नाम विवादमा मुछिनुको कारण नै शंकाको भरमा मानिसलाई फिर्ता पठाउने भएको बुझाइ छ।
यसकारण शंकाकै भरमा फिर्ता पठाउने कामलाई रोक्ने र केही कारणवश अनुसन्धान गर्नुपर्ने भएमा कुन कागजात के कति कारणले नक्कली हो भनेर प्रहरी कहाँ बुझाउनुपर्ने व्यवस्था गरेको हो।
अध्यागमन विभागले सुधारका लागि चरणबद्ध रूपमा विभिन्न निकायसँग छलफल गरेको छ।
विमानस्थलसँग सम्बन्धित वायु सेवा, ट्राभल एजेन्ट, म्यानपावर कम्पनीहरूसँग छलफल गरेको छ।
महानिर्देशक तिवारीले अध्यागमन प्रक्रियाको सुधारका लागि यात्रु, वायुसेवा कम्पनी, स्थानीय तह र सञ्चारमाध्यम, विदेशस्थित कुटनैतिक नियोग, ट्राभल्स तथा मुद्रा सटही कारोबार गर्ने संस्थाहरुलाई आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका हुन्।
यसबारे विभागले गृह, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, श्रम तथा रोजगार मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ।
त्यस्तै अब अध्यागमनले अन्य प्रयोजनका लागि भिजिट भिसामा जान खोज्नेहरूलाई काउन्सेलिङसमेत गर्न थालेको छ।
‘हामीले अहिले अनौपचारिक रूपमा काउन्सेलिङ सुरू गरेका छौं। उहाँहरूको ५/१० मिनेट लिएर काउन्सेलिङ समेत गरिरहेका छौं। अब औपचारिक रूपमै निर्णय गरेर पनि हामी सुरू गर्छौं,’ उनले भने।
वायु सेवा निगमले गर्थे टिकटको ओभरबुकिङ
विमानस्थलमा अध्यागमनले मात्रै नभई वायु सेवा कम्पनीहरूले समेत यात्रुहरूलाई बोर्डिङ पास लिने बेलामै फर्काउने गरेको समेत खुलेको महानिर्देशक तिवारीले बताए।
‘वायु सेवा कम्पनीहरूसँग पनि छलफल गर्यौं, उहाँहरूले टिकट नै ओभरबुकिङ गर्नुहुँदो रहेछ। लग्ने क्षमता एक खाले हुन्छ तर त्यही जहाजमा सिट क्षमताभन्दा बढी बुकिङ गरिँदो रहेछ। यो कुरा उहाँहरूले हामीसँग स्वीकार गर्नुभएको छ,’ तिवारीले भने, ‘ओभरबुकिङ गर्ने अनि कतिपयलाई फर्काउने रहेछन्।’
उनले वायु सेवा कम्पनीहरूलाई यो काम रोक्न अनुरोधसमेत गरेको छ।
अध्यागमनले छानबिनका लागि प्रहरीलाई बुझायो २० वटा पासपोर्ट
भिजिट भिसामा श्रमका लागि विदेश जान खोजेको भन्दै अध्यागमन कार्यालयले २० वटा पासपोर्ट मानब बेचबिखन तथा अनुसन्धान ब्युरोमा बुझाएको छ।
कार्यालयले केही दिन अघि ती पासपोर्टहरू ब्युरोमा बुझाएको हो।
नियन्त्रणमा रहेका पासपोर्ट धनीहरूले आफूहरू ठगीमा परेको भनेर भने नबताएको एसएसपी कृष्ण पंगेनीले बताए।
‘हामीले विवरण लिने काम गरिरहेका छौं। यसमा सोधपुछ गर्ने काम गर्छौं,’ उनले भने, ‘भिजिट भिसामा श्रमका लागि जाने भन्ने खाले कुरा हो। नक्कली कागजात नै त भेटिएको छैन। पासपोर्ट मात्रै प्राप्त भएको छ।’
यो पनि:
भिजिट भिसा प्रकरणका ५ विषय
नेताज्यूहरू, विमानस्थल अध्यागमनमा १० वर्षमा किन फेरिए २४ जना प्रमुख?