भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर सर्जन डा. उत्सवमान श्रेष्ठले स्तन क्यान्सरको उपचारमा नेपालले उल्लेख्य प्रगति गरेको बताएका छन्।
उनका अनुसार अहिले नेपालमै विदेशमा उपलब्ध हुने स्तरको शल्यक्रिया, केमोथेरापी र रेडियोथेरापी सेवा उपलब्ध छ। त्यसैले स्तन क्यान्सरको उपचारका लागि विदेश जानैपर्छ भन्ने अवस्था छैन।
भक्तपुर क्यान्सर अस्पतालमा दुई दशकभन्दा बढी समयदेखि कार्यरत डा. श्रेष्ठले आफ्नो टिमले अहिलेसम्म १२ देखि १३ हजारसम्म क्यान्सरको शल्यक्रिया गरेको बताए। तीमध्ये आफूले व्यक्तिगत रूपमा करिब चार हजार स्तन क्यान्सरका बिरामीको शल्यक्रियामा संलग्न भएर काम गरेको उनको भनाइ छ।
स्तन क्यान्सरको उपचारमा शल्यक्रिया नै अन्तिम विकल्प वा अन्तिम चरणको उपचार होइन। बिरामीको अवस्था, क्यान्सरको प्रकार र चरणअनुसार उपचारको तरिका फरक हुन्छ।
'कुनै बिरामीमा सुरूमा शल्यक्रिया गर्दा राम्रो हुन्छ भने कुनैमा पहिले केमोथेरापी दिएर क्यान्सरको आकार सानो बनाएपछि शल्यक्रिया गर्नुपर्ने हुन्छ,' उनले भने, 'अहिले हामी चिकित्सकहरूको टिम बसेर बिरामीलाई कुन उपचार गर्दा बढी फाइदा हुन्छ भन्ने निर्णय गर्छौं।'
पहिले क्यान्सर भेटिएपछि तत्काल शल्यक्रिया गर्ने चलन रहेको भए पनि अहिले प्याथोलोजिस्ट, रेडियोलोजिस्ट, मेडिकल अन्कोलोजिस्ट, रेडिएसन अन्कोलोजिस्ट र सर्जन सहितको टिमले उपचारको योजना बनाउने गरेको उनले बताए।
४० वर्षपछि म्यामोग्राम गर्न सुझाव
स्तन क्यान्सर समयमै पत्ता लगाउन नियमित जाँच र सचेतना महत्त्वपूर्ण हुन्छ। महिलाले आफ्नो स्तनमा हुने परिवर्तनबारे ध्यान दिनुपर्छ।
उनले २० वर्षभन्दा माथिका महिलालाई कम्तीमा एकपटक स्तनको भिडिओ एक्सरे गराउन सुझाव दिए। ४० वर्षभन्दा माथिका महिलाले भने प्रत्येक दुई वर्षमा म्यामोग्राम गराउँदा डल्लो देखिनुअघि नै क्यान्सर पत्ता लगाउन सकिने उनको भनाइ छ।
त्यस्तै, महिनावारी भएको सात दिनपछि महिनामा एकपटक आफैले स्तन जाँच गर्ने बानी बसाल्नु पर्नेपर्छ।
'स्तनमा डल्लो आयो भन्दैमा क्यान्सर नै हुन्छ भन्ने होइन। तर डल्लो देखिएपछि के हो भनेर सम्बन्धित चिकित्सकलाई देखाउनुपर्छ,' उनले भने।
स्तनमा डल्लो देखिनुका साथै काखी वा घाँटीमा गाँठो देखिनु पनि क्यान्सर बढ्दै गएको संकेत हुन सक्ने उनले बताए।
स्तन दुख्दैमा क्यान्सर हुन्छ भन्ने पनि नरहेको भन्दै उनले लक्षण देखिएमा कारण पत्ता लगाउन जाँच गर्नुपर्नेमा जोड दिए।
वंशाणुगत कारणदेखि जीवनशैलीसम्म
स्तन क्यान्सर हुनुका विभिन्न कारण हुन सक्ने डा. श्रेष्ठको भनाइ छ। परिवारमा आमा, दिदीबहिनीलाई स्तन क्यान्सर भएको छ भने जोखिम बढी हुन सक्छ। त्यसबाहेक सानै उमेरमा महिनावारी सुरू हुनु, ढिलो उमेरसम्म महिनावारी भइरहनु, ढिलो विवाह गर्नु र ३५ वर्षपछि पहिलो सन्तान जन्माउनु पनि जोखिमसँग जोडिन सक्ने उनले बताए।
त्यस्तै, बच्चालाई स्तनपान नगराउनु, मोटोपना, शारीरिक व्यायामको कमी, धूमपान र मधुमेहजस्ता पक्षले पनि जोखिम बढाउन सक्छ।
वंशाणुगत जोखिम पहिचान गर्न बिआरसिए वान र बिआरसिए टु (BRCA1/BRCA2) जीन परीक्षण गर्न सकिने उनले बताए।
महिलालाई मात्र होइन, पुरूषलाई पनि स्तन क्यान्सर
स्तन क्यान्सर महिलालाई मात्र हुने रोग नभएको डा. श्रेष्ठ बताउँछन्। पुरूषमा पनि स्तन क्यान्सर हुन सक्छ। यद्यपि महिलाको तुलनामा पुरूषमा यसको सम्भावना निकै कम हुन्छ।
अस्पतालमा वर्षमा करिब तीन सय स्तन क्यान्सरका बिरामीको शल्यक्रिया गर्दा एक प्रतिशतजति पुरूष हुने गरेका छन्।
पुरूषमा स्तन क्यान्सरबारे पर्याप्त जानकारी नहुँदा उनीहरू ढिलो अस्पताल आउने गरेको उनले बताए।
सुरूमा स्तनमा डल्लो देखिए पनि सामान्य समस्या ठानेर औषधि पसल जाने, क्रिम लगाउने र औषधि खाने गरेको पाइन्छ। पछि घाउ ठूलो भएपछि मात्रै अस्पताल आउने गरेको उनको अनुभव छ।
स्तन क्यान्सर निको हुन सक्छ, आत्मबल पनि महत्त्वपूर्ण
अहिले पनि धेरैजसो बिरामी दोस्रो र तेस्रो चरणमा अस्पताल आइपुग्छन्। तर पहिलेको तुलनामा जनचेतना बढेकाले सुरूआती चरणमै जाँच गराउन आउने बिरामी पनि बढेका छन्।
उनले स्तन क्यान्सर भएको थाहा पाउँदा बिरामी र परिवारमा ठूलो मानसिक तनाव हुने बताए। विशेषगरी साना बच्चा भएका महिलामा उपचार गर्दा परिवार र बच्चाको भविष्य के होला भन्ने चिन्ता बढी देखिने उनको अनुभव छ।
'बिरामीलाई क्यान्सर भएको खबर सुनाउनु हाम्रा लागि पनि सजिलो हुँदैन। तर सुरूमै रोग पत्ता लाग्नु राम्रो कुरा हो। समयमै उपचार गरे निको हुने सम्भावना धेरै हुन्छ भनेर हामी सम्झाउँछौँ,' उनले भने।
उपचारमा चिकित्सकको भूमिका महत्त्वपूर्ण भए पनि परिवारको साथ र बिरामीको आत्मबल पनि उत्तिकै आवश्यक छ।
नेपालमै अन्तर्राष्ट्रियस्तरको उपचार
आफूले भक्तपुर क्यान्सर अस्पतालमा काम सुरू गर्दाको तुलनामा अहिले उपचार प्रविधि र जनशक्तिमा ठूलो परिवर्तन आएको डा. श्रेष्ठको अनुभव छ।
पहिले सीमित संख्यामा सर्जन रहेको अस्पतालमा अहिले सात–आठ जना क्यान्सर सर्जन कार्यरत छन्।
उनीहरू विभिन्न देशमा तालिम लिएर आएका छन्। अस्पतालमा आधुनिक रेडियोथेरापी मेसिन र आवश्यक केमोथेरापी औषधि समेत उपलब्ध रहेको उनले बताए।
अहिले सानोभन्दा सानो डल्लोको पनि निडल बायोप्सी गर्न सकिने र शल्यक्रिया गर्दागर्दै फ्रोजन बायोप्सीमार्फत रिपोर्ट हेर्न सकिने प्रविधि उपलब्ध छ।
'विदेशमा जस्तो उपचार नेपालमा पनि गर्न सकिन्छ। स्तन क्यान्सरको उपचारका लागि विदेश जानैपर्छ भन्ने मलाई लाग्दैन,' उनले भने, 'तर बिरामीको इच्छा, आर्थिक अवस्था र रोगको प्रकृतिअनुसार निर्णय गर्ने कुरा हो।'
अस्पतालले स्तन क्यान्सर सम्बन्धी जनचेतना फैलाउन विद्यालय, सहकारी, बैंक तथा विभिन्न संस्थामा कार्यक्रम सञ्चालन गर्दै आएको पनि उनले बताए।
विद्यालयका विद्यार्थीलाई स्तन क्यान्सरबारे जानकारी दिएर उनीहरूमार्फत परिवारका महिलालाई जाँच गराउन प्रेरित गर्ने कार्यक्रमसमेत सञ्चालन भइरहेको छ।
स्तन बचाउने शल्यक्रियामा जोड
पहिले स्तन क्यान्सर भएको अवस्थामा पूरै स्तन निकाल्ने शल्यक्रिया बढी गरिने भए पनि अहिले सम्भव भएसम्म स्तन बचाउने उपचारतर्फ अघि बढिरहेको डा. श्रेष्ठले बताए।
अस्पतालमा स्तनलाई बचाउने शल्यक्रियासँगै त्यसको आकार पुनर्निर्माण गर्ने प्लास्टिक सर्जरी सम्बन्धी सेवा पनि विस्तार हुँदै गएको उनको भनाइ छ।
आफ्नो चिकित्सकीय अनुभव सुनाउँदै उनले १७–१८ वर्षअघि करिब सातदेखि आठ किलो तौल भएको स्तन बोकेर अस्पताल आएकी एक महिलाको शल्यक्रिया गरेको घटना सम्झिए।
परीक्षण गर्दा उनलाई क्यान्सर भएको पुष्टि भएपछि शल्यक्रिया गरेर स्तन निकालिएको थियो। अहिले पनि ती महिला फलोअपका लागि अस्पताल आउने गरेको र भेट हुँदा आफूलाई खुसी लाग्ने उनले बताए।
त्यस्तै, ३०–३२ वर्षकी अर्की महिलाले सानो बच्चा भएकाले क्यान्सर भएको कुरा परिवारलाई समेत नभनिदिन आग्रह गरेको घटना पनि उनले सुनाए।
उपचार गर्दा बच्चाको भविष्य बिग्रिने र श्रीमानले छाड्ने हो कि भन्ने डर ती महिलामा थियो। परिवारलाई समेत सम्झाएर उपचार सुरू गरेपछि उनी निको भएको डा. श्रेष्ठले बताए।
उनका अनुसार क्यान्सर निको भएका बिरामी नियमित फलोअपमा आउनु महत्त्वपूर्ण छ। सरकारले क्यान्सरका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ सहयोग दिन थालेपछि फलोअपमा आउने बिरामीको संख्या पनि बढेको उनले बताए।
'निको भएका बिरामीले अरूलाई पनि जाँच गराउनुपर्छ भनेर अस्पताल लिएर आउँदा खुसी लाग्छ। कसैले माया गरेर घिउ, फलफूल वा गुन्द्रुक ल्याइदिनुहुन्छ। त्यो हाम्रा लागि ठूलो अवार्ड पाएजस्तै हो,' उनले भने।