नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घोप्टेभीरमा आजदेखि दैनिक पाँच घण्टा सडक बन्द हुने भएको छ।
लगातार सुक्खा पहिरो खस्दा सवारी आवागमन प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएपछि जोखिम न्यूनीकरणका लागि सडक बन्द गरेर पहिरो पन्छाउन लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।
कार्यालयले बिहीबार सूचना जारी गर्दै आजदेखि अर्को सूचना जारी नभएसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गर्ने जनाएको छ।
उक्त समयमा सबै प्रकारका सवारीसाधनको आवागमन बन्द रहनेछन्।
जोखिमयुक्त ढुंगा र माटो हटाउने काम सकिएपछि सडक खुलाइनेछ।
जिल्ला प्रशासन कार्यालयले सडक बन्द हुने समयलाई ध्यान दिएर यात्रा गर्न र आवश्यक समन्वयका लागि सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरेको छ।