कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्का एक दशकदेखि तरकारीखेती गर्दै आएका छन्। उनले सुरुमा रु. ५०० लगानी गरेर एक कट्ठा जग्गामा तरकारीखेती गरेका थिए। उक्त खेतीबाट उत्पादित तरकारी बिक्री गरी रु. १० हजार आम्दानी भएपछि उनले खेती विस्तार गर्दै लगे।
तरकारीखेतीबाट राम्रो आम्दानी हुन थालेपछि खड्काले हाल तीन बिघा जग्गामा व्यावसायिक तरकारीखेती गर्दै आएका छन्। विसं २०७२ देखि व्यावसायिक रूपमा तरकारीखेतीमा लागेका उनले धान र गहुँखेतीभन्दा तीन गुणासम्म बढी फाइदा हुने भएपछि यसतर्फ आकर्षित भएको बताए।
‘एक कट्ठाबाट सुरु गरेको खेती विस्तार गर्दै लगेको थिएँ, त्यसपछि कोरोना महामारी आयो’, खड्काले भने, ‘कोरोनाका कारण रोजगारीका लागि भारतमा रहेका दुई छोरा घर फर्किए। त्यसपछि हामीले तरकारीखेती अझै बढाउँदै लग्यौँ।’
हाल तीन बिघा जग्गामा तरकारीखेती गर्दै आएका खड्काले यसबाट हुने आम्दानीले घरखर्चसँगै छोराछोरीको पढाइ खर्चसमेत धानिएको बताए।
‘सागसब्जी बिक्रीबाट सबै खर्च कटाएर वार्षिक रु. २५ लाखसम्म आम्दानी हुन्छ’, उनले भने, ‘यसैको आम्दानीबाट रु. २० लाख खर्च गरेर छोरा विदेश पठाएँ, घर बनाएँ। पहिले साइकलमा सागसब्जी बजार लैजान्थेँ, अहिले तीनवटा मोटरसाइकल जोडेँ। ५० प्रतिशत अनुदानमा अटोरिक्सासमेत किनेको छु।’
उनका अनुसार तरकारीखेतीमा दुई जनाले मासिक रु. १५ हजार तलब पाउने गरी काम गर्छन्। त्यस्तै, ज्यालादारीमा वर्षभरिमा करिब १०० जनाले रोजगारी पाउने गरेका छन्।
उत्पादित तरकारी बिक्री गर्न बजारको समस्या नभए पनि खुला सीमानाका कारण भारतबाट आउने तरकारीसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता रहेको खड्काले बताए। भारतबाट आयात हुने तरकारीका कारण आफूहरूले उत्पादन गरेको तरकारीले उचित मूल्य पाउन नसकेको उनको भनाइ छ।
‘भारतबाट आयात हुने सागसब्जीका कारण हामीले उत्पादन गरेको तरकारीको सोचेजस्तो मूल्य पाइँदैन’, उनले भने, ‘हाम्रो उत्पादन लागत बढी हुन्छ, तर सस्तोमा तरकारी बेच्नुपर्ने बाध्यता छ।’
खड्काले काउली, बन्दा, ब्रोकाउली, आलु, प्याज, भन्टा, खुर्सानीलगायत तरकारी उत्पादन गर्दै आएका छन्। मौसमअनुसारको खेतीभन्दा बेमौसमी तरकारीखेतीबाट राम्रो आम्दानी हुने उनको अनुभव छ।
‘सिजनमा भन्दा बेमौसममा तरकारी फलाउन सके पर्याप्त आम्दानी हुन्छ’, उनले भने, ‘सरकारले खेतीको बिमा सुविधा उपलब्ध गराए अझै सहज हुन्थ्यो।’