२९ वर्षीया युवतीले आफ्नो चरित्र हत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएपछि नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन्।
युवतीले भदौ ३ गते हुकालमार्फत् प्रहरी कार्यालयमा जाहेरी पठाएकी थिइन्। ८ गते कार्यालयले ब्युरोले पीडितलाई बोलाएर जाहेरी सनाखत गराएको युवतीले सेतोपाटीलाई जानकारी दिइन्।
'अपशब्द प्रयोग गरेर महरले ५१ मिनेट ४७ सेकेन्डको भिडिओ सामाजिक सञ्जालमा हालेका थिए। प्रहरीमा उजुरी परेसँगै हटाएका छन्,' युवतीले भनिन्, 'मैले त्यो भिडिओ सुरक्षित राखेकी छु।'
ऐन महरसहित उनका परिवारले आफूमाथि अपशब्द र विभिन्न लाल्छना लगाउँदै सामाजिक सञ्जालमा भिडिओ तथा फोटोहरू पोष्ट गर्ने गरेको आरोप उनको छ।
उनले चरित्रहत्या गरेको कसूरमा महरविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारवाही माग गर्दै उजुरी दिएकी छन्।
उक्त दफामा विद्युतीय सञ्चार माध्यमहरूमा कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनि रोक लगाएका सामग्री वा कसैप्रति घृणा वा दोष फैलाउन, महिलालाई जिस्काउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै पनि किसिमको अमर्यादित कार्य गर्ने वा गर्न नपाइने भन्ने उल्लेख गरिएको छ।
यस्ता काम गरेमा एक लाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ। साथै कसूर पटक पटक गरेमा अघिल्लो पटक भएको सजायको डेढी सजाय हुने भनिएको छ।
उनको उजुरी दर्ता भएसँगै महरविरूद्ध अनुसन्धानअगाडि बढाउन जिल्ला अदालत काठमाडौंले भदौ ९ गते पक्राउ गर्न अनुमति दिएको थियो।
युवतीले यसअघि प्रहरीमा आफूमाथि ऐन महराले बलात्कार गरेको आरोप लगाएकी थिइन्। सुरूआतमा प्रहरीले उजुरी लिन नमानेपछि उच्च अदालत पाटनले अनुसन्धान अगाडि बढाउन आदेश दिएको थियो।
यस अघि उजुरी युवतीसमेत विद्युतीय कारोबार ऐन कसूरमा पक्राउ परेकी थिइन्। महरले आफ्नो चरित्र हत्या गरेको आरोप लगाएपछि उनी पक्राउ परेकी थिइन्।
महरलाई आचरणको प्रश्न उठाउँदै एमालेले केन्द्रीय सदस्यबाट निलम्बन गरेको थियो। पछि बझाङको प्रदेश सभा उपनिर्वाचनअघि निलम्बन फुकुवा गरिएको थियो। बझाङ स्थायी घर भएका महर एमालेनिकट अनेरास्ववियुका पूर्वअध्यक्ष पनि हुन्। एमालेले २०७९ को निर्वाचनमा महरलाई बझाङमा प्रतिनिधि सभाको उम्मेदवार बनाएको थियो तर उनी एकीकृत समाजवादीका भानुभक्त जोशीसँग पराजित भएका थिए।