काठमाडौंस्थित गौरीघाट क्षेत्रमा आज साँझपख बागमती नदीले सतर्कता तह पार गरेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार बागमती नदीको जल सतह बढ्दो क्रममा छ।
नदी तटीय क्षेत्रमा रहनेले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ।
काठमाडौं उपत्यकामा अहिले मध्यमदेखि भारी वर्षा भइरहेको छ।
काठमाडौंको सुन्दरीजलमा एक घन्टामा ३७.८ मिलिमिटर परेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
त्यसैगरी मकवानपुरको रजैयामा १८.८ मिलिमिटर र प्यूठानको सेउलिबाङमा ११.४ मिलिमिटर पानी परेको थियो।
यसैबीच भक्तपुरको सिर्जनानगरको मुख्य रोडमै पानी जमेको थियो। जसका कारण सवारी आवागमन प्रभावित बनेको थियो। सडकमै भेल बढेपछि सवारीसाधन बीचमै रोकिएका थिए।