लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन भएको छ।
रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१० तकसेराकी सरिताको उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्ज, मनमोहन सेन्टरमा शनिबार बेलुकी ६ बजेतिर निधन भएको हो।
उनी ३२ वर्षकी थिइन्।
नेकपा एमाले रूकुम पूर्वका इन्चार्ज खेममान खड्काले सरिताको शव गृहजिल्ला लैजाने कि काठमाडौंमै अन्त्येष्टि गर्ने भन्नेबारे आफन्तबीच सल्लाह भइरहेको बताए।
उनका अनुसार झन्डै २५ वर्ष पहिले सरिताको मुटुको भल्भ फेरिएको थियो। सानैदेखि मुटु रोग भएको र पछिल्लो समय स्वास्थ्यमा समस्या देखिएपछि उनी उपचाररत थिइन्।
एक महिनाअघि उनी गर्भवती अवस्थामा अस्पताल पुगेकी थिइन्। चिकित्सकले फेरि भल्भ फेर्नुपर्ने भनेपछि प्रसूति मितिभन्दा करिब एक महिनाअघि नै शल्यक्रिया गरी उनको बच्चा निकालिएको थियो। उनले पहिलो सन्तानलाई जन्म दिएकी थिइन्।
प्रसूति शल्यक्रिया गरेको केही समयपछि सरिताको मुटुको भल्भ फेरिएको थियो। र, उनको अवस्था सामान्य हुँदै नर्मल वार्डमा सारिएको थियो।
तर त्यहीबीच उनलाई निमोनिया भयो र यही कारण उनको मृत्यु भएको चिकित्सकले बताएका छन्।
एमालेकी समानुपातिक सांसद सरिता लुम्बिनी प्रदेश सभामा अर्थ, पर्यटन तथा विकास समिति सदस्य पनि थिइन्।